समाज

कर्णालीको धार्मिक क्षेत्र संरक्षणमा नेपाली सेना

जुम्ला स्थित नेपाली सेना धार्मिक क्षेत्र संरक्षणमा जुटेको छ। प्रशिद्ध धार्मिक स्थलको सरसफाई गर्ने, मन्दिरको मर्मत संभार गर्दै धार्मिक पर्यटनको महत्वका बारेमा प्रचारप्रसारमा जुटेको हो। बाहिनीपति यामबहादुर सापकोटा कर्णाली धार्मिक पर्यटनको केन्द्र भएकोले धार्मिक क्षेत्रको संरक्षण र प्रवर्द्धन बिना यहाँको आर्थिक समृद्धि नहुने बताउँछन्।  

यो जुम्ला खलंगामा रहेको पवित्र प्रशिद्ध तिर्थस्थल चन्दननाथ र बटुक भैरबनाथ मन्दिर कर्णालीमा मात्र प्रख्याति कमाएको मन्दिर होइन। देश विदेशमा यो मन्दिरले प्रख्याती कमाएको छ। बाहिनीपति सापकोटाले भने, 'कर्णालीमा अथाह धार्मिक पर्यटनका संभावना छन्। यसको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारमा जोेड दिनुपर्छ। यहाँको धार्मिक क्षेत्र नै कर्णालीको समृद्धिको आधार बन्न सक्छ।’

अहिले पर्यटकले चन्दननाथ मन्दिरको दर्शन गर्ने बहानामा राराताल घुम्ने र राराताल घुम्ने बहानामा चन्दननाथ मन्दिरको दर्शन गर्ने अभिलाषा बोकेका हुन्छन्। बाहिनीपति सापकोटाले भने,’रारा र चन्दननाथ मन्दिरको एकआपासमा अन्यानोश्रित सम्बन्ध छ। पर्यटकीय हिसावले प्रचुर संभावना बोकेको यी क्षेत्रको संरक्षण गर्नु अनिवार्य हुन आउँछ।’

कर्णालीमा मनमोहक दृश्य, प्राकृतिक सुन्दरता र धार्मिक धरोहर उपस्थित भएको बताउँदै धार्मिक पर्यटनलाई उचाईमा पुर्याउनको लागि धार्मिक, स्थल र हिन्दु पिठलाई माथि उठाउनु पर्नेमा जोड दिए। जसका लागि मन्दिरको सुन्दरता, सरसफाइ र मन्दिर भित्रको व्यवस्थापकीय पाटो बलियो हुन आवश्यक छ।    

सेनाले अबदेखि प्रत्येक महिनाको पहिलो सोमबार धार्मिक पर्यटनको केन्द्र चन्दननाथ र बटुक भैरबनाथ मन्दिरमा सरसफाई गर्ने, लिपपोत गर्ने निर्णय गरेको छ। यो कार्यको प्रारम्भ सोमबारदेखि नै सुरु भएको छ।  

मन्दिर आसपासको क्षेत्रमा फूल फुलाउने, मनमोहक बनाउने र बढीभन्दा बढी तिर्थालु आउन आकर्षण गर्ने खालको गतिविधि गर्न थालेको हो। धर्म भिक्षुहरु, पुजारीहरुलाई केन्द्रित गरेर राहतका कार्यक्रम ल्याउने पनि नेपाली सेनाले जनाएको छ।  

फूल फुलाउने सुन्दर र मनमोहक बनाउने, तिर्थालु आउन आकर्षण गर्ने, मदिरमा बस्ने धर्म भिक्षुहहरु, पुजारीहरुलाई राहत होस भनेर चामल, दाल, तेल, घ्यू, चिनी, चियापति दिने कार्यको शुरुवात भइसकेको बाहिनीपति सापकोटा बताउँछन्। 'सेनाले थालेको यो कार्य पूरा गर्न प्रतिबद्ध छौँ,' बाहिनीपति सापकोटाले भने, ‘सेना र नागरिक मिलेर यो कामलाई दिर्घकालिन र प्रभावकारी बनाउनुपर्छ।’

उनले चन्दननाथ, बटुक भैरव मन्दिर, धार्मिक पिठ र राराताल कनेक्सन गरेर बढिभन्दा बढी पर्यटक आउने वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिए। उनले भने,‘अनिमात्र यहाँका नागरिक आर्थिकस्तर उस्कन्छ। ’मन्दिर सरसफाईमा नेपाली सेना २४ नम्बर बाहिनी र नन्दाबक्स गणको टोलीले मन्दिरको सरसफाई र सजावट गर्न थालेको हो।  

नेपाली सेनाले मन्दिरका पुजारी र मन्दिरलाई थप राहत होस भन्नका लागि २० वटा फूलको गमला, चिनी, चामल, दाल, तेल, कम्बलसहित नगद दक्षिणा समेत प्रदान गरेको छ। नन्दाबक्स गणका गणपति रविन थापा भन्छन्, ‘मन्दिरमा तिर्थयात्रीको चाप बढ्छ। यो क्षेत्र सफा हुनुपर्छ। यो क्षेत्र फोहोर हुन नदिन अब नेपाली सेनाले महिनाको पहिलो सोमबार एक दिन सरसफाईको क्रियाकलाप गर्नेछ। मन्दिरको सुन्दरता बढाउने प्रयत्न गर्नेछ।’

अब नागरिक सेना मिलेर मन्दिर आसपासको जलाउन मिल्ने फोहोर जलाएर नष्ट गर्ने र नजल्ने फोहोरको व्यवस्थापन पनि प्रभावकारी ढंगबाट गर्नु पर्ने देखिन्छ। उनले भने, ‘अनिमात्र हामी सबैको हित हुन्छ। हाम्रो धार्मिक पर्यटन क्षेत्र प्रतिको न्याय हुन्छ। नेपाली सेनाले जुम्लामा स्वास्थ्य, शिक्षा, विपद् सम्बन्धी तालिम, खेलकुद र कृषि क्षेत्रमा नागरिकसंगको सम्बन्ध सुमधुर बनाउँदै लगेको छ।  

जुम्ला स्थित नम्बर २४ बाहिनी अड्डा माताहतमा रहेका रारा, डोल्पा,हुम्ला र कालिकोटमा रहेका गुल्महरुले धार्मिक क्षेत्रको विकास र प्रवर्द्धनमा जोड दिँदै आएका छन्। रारातालको सरसफाई र सुरक्षामा नेपाली सेना नै खटिएको छ।

प्रकाशित: ३२ श्रावण २०७८ १४:५५ सोमबार

कर्णालीको धार्मिक क्षेत्र