समाज

पाँचपोखरीमा जनै पूर्णिमा मेला नलाग्ने

जनै पूर्णिमाका अवसरमा वर्षेनी एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष पनि मेला नलाग्ने भएको छ। पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टाँसी लामाले कोरोना महामारी बढ्दो क्रममा रहेकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गेका हुन्। गत वर्ष पनि कोरोनाका कारण मेला लागेको थिएन।  

मेला तथा जात्राले कोरोना सङ्क्रमण बढ्ने भएकाले मेला, जात्रा नगर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पोखरेलले जानकारी दिए। यो वर्षको जनैपूर्णिमा भदौ ६ गते परेको छ। विभिन्न जिल्लाबाट सर्वसाधारण मेला भर्न पाँचपोखरी पुग्ने गरेका थिए। समुन्द्री सतहबाट करिब चार हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा सानाठूलो गरी पाँच वटा ताल रहेका छन्।

यो पोखरी इन्द्रावती नदीको उदगम्स्थल हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तब्यमा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरीलाई पनि छनोट गरेको छ। पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध लिएर भक्तजन चढाउन जान्छन्।

विशेषगरी यहाँ जाने भक्तजन खेतीपातीमा उन्नतिको आशीर्वाद माग्ने गर्छन्। पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाले शिवसरह श्रीमान् पाउने र बिहेपश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

प्रकाशित: ३२ श्रावण २०७८ ०९:४१ सोमबार

पाँचपोखरी जनै पूर्णिमा मेला