समाज

मलेसियामा ज्यान गुमाएका बिष्टको दाहसंस्कार

मलेसियामा रनबहादुर विष्टको दाहसंस्कारको तयारी गरिँदै। तस्बिर: यज्ञकुमार राईको फेसबुक

मलेसियामा ज्यान गुमाएका खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङका रनबहादुर विष्टको दाहसंस्कार गरिएको छ। साउन १६ गते आफ्नै कोठामा बेहोस अवस्थामा भेटिएपछि अस्पताल लैजानेक्रममा ज्यान गुमाएका रनबहादुरको १३औं दिनमा बिहीबार दाहसंस्कार गरिएको हो।  

१८ वर्षदेखि मलेसियामा बसिरहेका विष्टको परिवारको स्वीकृतिमा मलेसियास्थित नेपाली दुतावासको सहयोगमा त्यँही दाहसंस्कार गरिएको हो। अवैध बनेर बसिरहेका उनी गत जुलाई १ तारिखदेखि मलेसियाको सेलाङ्गर तामिनजयास्थित एक होटलमा काम गर्दैआएका थिए।  

बिहान कोठामा बेहोस अवस्थामा भेटिएका विष्टको अस्पताल लैजाने तयारी गर्दागर्दै मृत्यु भएको होटल सञ्चालकको भनाई छ। मृत्युपछि शवलाई मलेसियन प्रहरीले काजाङ अस्पताल पुर्‍याएको थियो। पोष्टमार्टम रिपोर्टमा उनलाई कोभिड–१९ को संक्रमण देखिएकाले सोही कारणबाट उनको मृत्यु भएको अस्पतालले जनाएको उल्लेख गरिएकाे छ। उनी सुगर र प्रेसरको समस्याबाट समेत पिडित रहेको बताइएको छ।  

विष्ट रोजगारीका सिलसिलामा २०६१ सालमा मलेसिया पुगेका थिए। १२ वर्षसम्म उनलाई पर्खेर बसेकी श्रीमतीले घरकै सल्लाहमा दोश्रो विवाह गरिसकेकी छन्। विष्टको मृत्युको बारेमा सामाजिक सञ्जालबाट जानकारी पाएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए। ‘मैले पनि सामाजिक सञ्जालबाट थाहा पाएको हो। गाउँमा बुझ्दा घटना यथार्त रहेछ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘लामो समयसम्म घर नआएकाले घरपरिवारकै सल्लाहमा श्रीमतीले समेत दोश्रो विवाह गरिसकेको खबर आएको छ।’

प्रकाशित: २९ श्रावण २०७८ ०५:१३ शुक्रबार

मलेसियामा ज्यान गुमाएका बिष्टको दाहसंस्कार