समाज

भीरबाट लडेर युवकको निधन

गएराति भीरबाट लडेर उदयपुरमा एक युवकको निधन भएको छ। जिल्लाको रौतामाई गाउँपालिका ८ डिल्लीबरका ३० वर्षीय चन्द्रबहादुर रिखाम मगरको पुँवारे भन्ज्याङ भीरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ।  

बिहीबार विहान भीरबाट मान्छे लडेर मृत्यु भएको भन्ने स्थानीयले दिएको खवर अनुसार रौतामाई इलाका प्रहरी कार्यालय भुट्टारबाट खटेको प्रहरी नायव निरीक्षक (सई) नेतृत्वको टोली घट्नास्थल पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। स्थानीयलाई उद्धृत गर्दै प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार बुधबार राति पुँवारेदेखि घर डिल्लीबर जाने क्रममा लडेर मगरको निधन भएको हुनसक्ने अनुमान गरिएको छ।  

घट्नास्थलको सर्जमिन मुचुल्का गरी लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने काम भईरहेको प्रहरीले जनाएको छ। घट्ना कसरी भयो भन्ने विषयमा अनुसन्धान सुरु भएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताएका छन्।

प्रकाशित: २८ श्रावण २०७८ ०७:५५ बिहीबार

भीरबाट लडेर युवकको निधन