समाज

महाकविको घर भत्काइएकोमा सर्वोच्चद्वारा लिखित जवाफ माग

सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘कविकुञ्ज’ घर भत्काउनुपर्ने कारण पेश गर्न नेपाल प्रज्ञा प्रतिष्ठानसँग लिखित जवाफ माग गरेको छ। पूरातात्विक महत्वको घर भत्काएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले दर्ता गरेको निवेदनमाथि सुनुवाइ गर्दै बुधबार न्यायाधीश तेजबहादुर केसीको इजलासले प्रज्ञा प्रतिष्ठानलगायत विपक्षीसँग लिखित जवाफ माग गरेको थियो।  

यसअघि प्रतिष्ठानले मैतीदेवीस्थित महाकवि देवकोटाको घर जीर्ण भइसकेको हुँदा रेट्रोफिटङ गर्न नमिल्ने भन्दै संग्राहलय बनाउन घर भत्काइएको तर्क गर्दै आएको थियो। रिटमा महाकवि देवकोटाको घर भत्काएर उनीसँग जोडिएको धरोहर नाश हुने भएकाले संरक्षणको लागि तत्काल घर भत्काउन रोक लगाउन अन्तरिम आदेश माग गरिएको थियो। सर्वोच्चले दुवै पक्षको कुरा सुनेर अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्नुपर्ने भन्दै छलफलमा बोलाएको छ।

यता संरक्षणविद्हरूले महाकवि देवकोटाको घर नभत्काइन रेट्रोफिटिङ गर्नुपर्ने माग गरेका थिए। प्रतिष्ठानले भत्काउन थालेपछि मंगलबार अधिवक्ता सञ्जय अधिकारीले देवकोटाको घरलाई ऐतिहासिक सम्पदाको रूपमा संरक्षण गर्नुपर्ने भन्दै भत्काउन रोक लगाउन मागसहित सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

महाकवि देवकोटाको निधनपछि झन्डै दुई दशकसम्म अलपत्र परेको कविकुञ्ज विसं. २०७२ सालको महाभूकम्पका कारण थप जीर्ण भएपछि सरकारले किनेर संग्रहालय बनाउने तयारी गरेको थियो। कविकुञ्जको आडैमा छेउमा घर बनाएर विसं. २०४९ मा सरेका महाकवि पुत्र पद्म देवकोटा आफू हुर्केको घर भत्काइरहेको देख्दा भावुक भएका छन्। ‘बुबाले विसं. १९९९ सालताका ३६ सय रूपैयाँमा दुईतल्ले ईंटाको घर किन्नुभएको थियो,’ उनले स्मरण गरे, ‘उहाँले यो घरमा झन्डै १५ वर्ष बिताउनु भएको थियो। हामीले २०७६ मंसिर २९ गते घर नेपाल सरकारको नाममा पास गरिदिएको थियौं।’

गत सातादेखि प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन महाकवि देवकोटाको ८० वर्ष पुरानो घर धमाधम भत्काइरहेको छ। उनको घर सरकारले दुई करोड ५० लाख रूपैयाँमा किनेको थियो। १२ आना क्षेत्रफलमा संग्रहालय निर्माणका लागि प्रज्ञा प्रतिष्ठानले सात करोड ११ लाखको टेन्डर ‘जेबी ठेकेदार कम्पनी’लाई दिएको थियो।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नयाँ संग्रहालयको भवनको पहिलो तलामा महाकवि देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका सामग्रीहरू पलङ, कपडा र भाँडाकुँडालगायत राखिनेछन्। दोस्रो तलामा उनले लेखेका सबै सामग्री रहनेछन् भने प्रकाशित पुस्तक र अप्रकाशित पाण्डुलिपीसमेत राखिनेछन्। तेस्रो तला भने परामर्श तथा सभाकक्ष हुनेछ। ‘प्रस्तावित संग्रहालय भवन विभिन्न उमेर अवस्थाका अवलोकनकर्ताहरूलाई दृष्टिगत गरी सुविधाका दृष्टिले आधुनिकता र कलाका दृष्टिले नेपाली मौलिकता कायम हुने गरी निर्माण गर्न लागिएको हो,’ उनले भने। संग्रहालय निर्माण गर्ने क्रममा अघिल्लो भागमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको प्रतिमा राखिने छ।

‘महाकवि देवकोटा नेपाली साहित्यका विराट प्रतिभा हुनुहुन्थ्यो,’ साहित्यकार सरुभक्त श्रेष्ठले भने, ‘उनले २००० सालमा निर्माण गरेर बसेको कविकुञ्जमा बसेर रचेका अनेक ग्रन्थमा आमुख लेख्दा ठेगानामा कविकुञ्ज उल्लेख गर्थे। घरसित महाकविको भावना जोडिएको थियो। त्यसैले कविकुञ्जलाई विनाश गर्नु अपराध हो। कविकुञ्जमा संग्रहालय पनि होस्। अरू महत्व थपिन्छ। तर कविकुञ्जको मौलिक संरचना विनाश गरी संग्रहालयमा मात्र जोड दिएर आधुनिक र कलाको दृष्टिले नेपाली मौलिकता विपरित फरक संरचनाको घर वा भवन निर्णाण गरियो भने यो इतिहास र वाङ्मयलाई धोखा हुनेछ।’

प्रकाशित: २८ श्रावण २०७८ ००:२४ बिहीबार

सर्वोच्च अदालत महाकवि लक्ष्मीप्रसाद देवकोटा ‘कविकुञ्ज नेपाल प्रज्ञा प्रतिष्ठान