समाज

पाँच हजार धरौटीमा वडाध्यक्ष रिहा

सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा सेवाग्राहीलाई डोरीले बाँधेर कुटपिट गरेको आरोप लागेका जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली धरौटीमा मुक्त भएका छन्। स्थानीय सर्पे नेपालीलाई साउन १५ गते डोरीले बाँधेर वडाध्यक्ष रामबहादुरले कुटपिट गरेका थिए। वडाध्यक्षले डोरीले बाँधेर कुटपिट गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी पक्राउ परेका थिए।  

एक साताअघि पक्राउ परेका नेपालीलाई जिल्ला प्रशासन कार्यालय जाजरकोटले बुधबार पाँच हजार रुपैयाँ धरौटीमा छोडेको हो। उनलाई प्रहरी प्रतिवेदनका आधारमा अभद्र व्यवहार मुद्दा चलाइएको थियो। पीडित पक्षले अध्यक्षविरुद्ध जाहेरी दिएका थिएन।

‘पीडित पक्षलाई बुझ्दा ठूलै गल्ती भएको जस्तो देखिएन, पीडित पक्षबाट जाहेरी पनि आएन्,’ प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले भने, ‘भदौ १६ गते उपस्थित हुने गरेर अहिलेलाई पाँच हजार रुपैयाँ धरौटीमा मुक्त गरेका छौं ।’

प्रकाशित: २७ श्रावण २०७८ १३:३७ बुधबार

सामाजिक सुरक्षा भत्ता वितरण