समाज

'रिफर कार्ड' ले सास्ती बेहोर्दै बिरामी

सुनसरीको सदरमुकाम इनरुवामा रहेको जिल्ला अस्पतालमा बिरामी उपचार गर्न भन्दा पनि रिफर कार्डका लागि जमघट हुने गरेको छ।

इनरुवा अस्पतालमा भन्दा अन्यत्र उपचार गर्न स्वास्थ्य बीमा गरेका बिरामी लाइन बसेर रिफर कार्डका लागि जमघट हुने गरेको हो। रिफर कार्डको समय एक साताको लागि हुँदा बिरामीले पटक-पटक अस्पताल धाउनु पर्छ। नागरिकलाई सुलभ शुल्कमा स्वास्थ्य उपचार प्रदान गर्ने उद्देश्यका साथ सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा समेत बिरामीले सास्ती भोग्नु परेको छ। सुरुमा स्वास्थ्य बीमाबाट स्वास्थ्य सेवा पाउन सहज भएपनि अहिले सास्ती भोग्नु परेको इनरुवाका सियाराम यादवले बताए।  

‘स्वास्थ्य बीमा एकदम झन्झटिलो छ’, स्वास्थ्य बीमाको रिफर लिन इनरुवा अस्पताल आएका यादवले भने। यसअघि एक पटक रिफर कार्ड लैजाँदा एक वर्षका लागि हुने गर्थ्यो। तर, २०७८ असार २१ गतेदेखि लागू हुने गरि रिफर कार्ड लगेको सात दिनका लागि मात्र हुने भएपछि झन्झट भएको हो।  

नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमले नागरिकलाई सहज भएपनि पछिल्लो समय यता स्वास्थ्य बीमामा लागु भएको नियमले यसप्रति लोकप्रियताभन्दा गुनासो बढेको पाइएको छ। कोरोना महामारीको समयमा भीडभाडसहित लाम लागेर बस्दा कोरोना सर्ने खतरा पनि छ।  

स्वास्थ्य बीमा बोर्ड सुनसरीका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ असार ३ गते सम्म महिला स्वयंसेविका ३६७, कुष्ठरोगी १२, ‘क’ वर्गका अपाङ्गता ३०१, एचआईभी संक्रमित २१६ र एमडिआर (जटिल क्षयरोगी) ८ र ज्येष्ठ नागरिक १८ हजार ७ सय १६ जनाको बीमा गरिएको छ।  

बीमा गरेपछि अल्कोहल (मदिरा) सेवन गरेको अवस्थामा गरिने जाँचबाहेक अन्य जुनसुकै शारीरिक जाँचमा पैसा लाग्दैन भनिएको छ। एमआरआई, सिटी स्यान, भिडियो एक्सरे, सुगर–प्रेसर जाँच, इसिजी, क्यान्सर, एचआईभी, प्रसूति, सबैखाले अपरेसन, दुर्घटना हुँदाको अवस्था, स्त्री रोग, आँखा रोगसम्बन्धी सबै प्रकारका ल्याब टेस्टमा बीमा कार्यक्रमअनुसार पैसा लाग्दैन। 

नेपाल सरकारको पहलमा स्वास्थ्य बीमा बोर्डमार्फत २०७२ चैतदेखि नमुनाका रूपमा कैलाली जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो।

प्रकाशित: २५ श्रावण २०७८ १३:३२ सोमबार

रिफर कार्ड