समाज

चार दशकदेखि सामुदायिक वनमा बस्दै आएका बादी समुदायलाई पक्की घर

सन्धिखर्क–२, भद्रिखोलामा निर्माण गरिएको बस्ती ।

झन्डै चार दशकदेखि सामुदायिक वनमा बस्दै आएका बादी समुदाय अहिले पक्की घरमा बस्न पाउँदा खुसीले गदगद भएका छन्। सन्धिखर्क नगरपालिका–२, भद्रीखोलामा ३८ वर्षसम्म सामुदायिक वनमा त्रिपाल र चुहिने छानोमा जीवन काट्दै आएका बादी समुदायले पक्की घर पाएपछि उनीहरु खुसी भएका हुन्।

‘हिउँदमा सर्पको डर बर्खामा पानीको डुबान थियो। राम्रोसंग निदाउन पनी पाइएन, सन्धिखर्क–२ भद्रीखोलाकी लक्ष्मी बादीले भनिन्,‘बर्खाको समय चिसो लुगा फेर्दै बस्दै गर्‍यौं।’ अब रातभरी जागै बस्न नपर्ने र ढुक्क भएर सुत्न पाइने उनको भनाई छ। सोही स्थानकै मधु बादीले पौरख गरेर खान–लाउन जुटाए पनि घर बनाउन सक्ने अवस्था नभएका कारण घर पाउँदा धेरै खुसी रहेको बताए। ‘दिनभरी काम गरेर बिहान बेलुका छाक टार्न त सक्थ्यौं,' उनले भने,‘घर बनाउन जग्गा पनि थिएन, बनाउन सक्ने अवस्था पनि थिएन।’

भद्रिखोलाकै सामुदायिक वनमा बस्दै आएका बादी समुदायका ११ घरपरिवार र संगै बस्दै आएका दुई दलित परिवार गरी १३ घरपरिवारलाई लुम्बिनी प्रदेश सरकार र सन्धिखर्क नगरपालिकाले आवासको लागि घर निर्माण गरिदिएपछि उनीहरुको मुख्य समस्या हल भएको छ।  

प्रदेश सरकारको जनता आवास कार्यक्रम अनुसार ४३ लाख  ६८ हजार रकममा १३ वटा घर निर्माण साथै प्रदेश सरकारकै मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत ११ लाखमा जग्गा खरिद गरिएको प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले बताए।  

लामो समयदेखि कष्टकर जिवन बिताउन बाध्य भएका बादी समुदायको समस्या हल गर्न पाएकोमा आफूलाई निकै आन्नदित महसुस गरेको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालको भनाई छ। मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत रोजगार र जनता आवास दुवै कार्यक्रम मार्फत आवासको व्यवस्थापन गरिएको हो। १३ घरपरिवारलाई सामूहिक रुपमा लालपुर्जा समेत प्रदान गरिएको नगर प्रमुख भुसालले बताए।  

विसं. २०४० सालदेखि उनीहरु भद्रीखोलाकै सामुदायिक वनमा अव्यवस्थित बसोबास गर्दै आएका थिए।

प्रकाशित: २५ श्रावण २०७८ १३:०५ सोमबार

पक्की घर बादी समुदाय