एउटा वडाका दुईओटा कार्यालय। सुन्दा र देख्दा अचम्म लाग्छ। तर, यो यथार्थ हो। अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर–११ को वडा कार्यालय दुई ठाँउमा छ। वडा नम्बर–११ कै खयरबट्टीमा एउटा कार्यालय छ। अर्को कार्यालय भने छिमेकी जिल्ला कपिलवस्तुको ईमलियामा राखिएको छ।
वडा भित्रकै खयरबट्टीमा वडा कार्यालय राखिएपनी त्यहाँ सेवाग्राही जाँदैनन्। खयरबट्टीको वडा कार्यालयमा कार्यालय सहयोगी मात्रै छन्। वडाअध्यक्ष, सचिव कपिलवस्तुमै बस्छन्। त्यहाँ अधिकांश जंगल क्षेत्र रहेको र छरिएर रहेका बस्तीका सेवाग्राहीलाई खयरबट्टी भन्दा कपिलवस्तु झर्न छिटो र सजिलो हुन्छ।
वडाको मौवाबारी, दोबाटो, फोर्सल लगायतका गाउँबाट सेवाग्राही इमलिया जान्छन्। ती बस्तीबाट खयरबट्टीको कार्यालय पुग्न ६–७ घण्टा पैदल हिंड्नुपर्छ। सिफारिस बनाउनै एक दिन बित्ने गरेको र ईमलियाबाट सिफारिस लिएर सदरमुकाम पुगेर एकैदिनमा नागरिकता बनाउन सकिने स्थानिय मणिराम सारुले बताए। ‘हामीलाई ईमलिया नै सजिलो हुन्छ,उनले भने,‘यता त हामीलाई अपायक पर्छ।’
त्यहाँका सेवाग्राहीको माग अनुसारनै कामकाजको वडा कार्यालय ईमलियामा खोलिएको वडाअध्यक्ष कोपिलचद्र आलले बताए। वडा कार्यालयमा सिफारिस बनाएर नगरपालिका कार्यालय ठाडा तथा सदरमुकाम सन्धिखर्क जान सजिलो हुने भएकाले ईमलियामा कार्यालय राखिएको उनको भनाई छ।
जिल्लाकै २७ प्रतिशत भुगोल क्षेत्र ओगटेको तत्कालीन सिद्धारा गाविसलाई संघियता लागु भएपछी शितगंगा नगरपालिकाका तिनवटा वडामा विभाजन गरिएको छ। दुर्गम तथा जंगल क्षेत्र भएकाले पनी स्थानियले सहजै सरकारी सेवा पाउन सकेका छैनन्। ६१०.४३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको नगरपालिकाका १४ वटै वडा दुर्गम र भौगोलिक जटिलता छ।
प्रकाशित: २५ श्रावण २०७८ ०८:११ सोमबार