समाज

११ वर्षीया छोरी बलात्कार गर्ने बाबु र काका पक्राउ

छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा बाबु र काका पक्राउ परेका छन्। गोरखाको पालुङ्टार नगरपालिका वडा नं ८ की एक बालिकालाई आफ्नै बुबा र काकाले बारम्बार बलात्कार गरि गम्भिर बिरामी बनाएको बालिकाको गुनासोपछि प्रहरीले पक्राउ गरेको हो।  

पटक पटक बलात्कारको शिकार बनेपछि पाठेघरको बिरामी बनेकी ११ वर्षीया बालिका गत असार २७ गते थापाथली अस्पतालमा उपचार गराउन पुगिन्। सो क्रममा फुपूसमक्ष उनले आफूलाई बाबु र काकाले बलात्कार गर्दा बिरामी भएको बताएपछि प्रहरी सम्म उजुरी आईपुगेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए।  

श्रीमतीले दोस्रो बिहे गरी गएपछि एक्लिएका बुबाले आफूलाई घरभित्रै बारम्बार जबरजस्ती करणी गर्ने गरेको उपचारको क्रममा बालिकाले फुपूलाई बताएकी थिइन्। साथै काकाले समेत गत कात्तिक महिनामा आफूलाई बलात्कार गरेको उनले फुपूलाई बताईन।  

छोरीलाई बलात्कार गरेको आरोपमा फुपूले आफ्ना दाजु र भाइ दुवैजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि घटना बाहिर आएको डिएसपी दाहालले बताए। सोही जाहेरीको आधारमा प्रहरीले गत शुक्रबार आरोपित दुबै जनालाई पक्राउ गरेको छ। उनीहरु विरुद्ध जबरजस्ती करणीको शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी दाहालले जानकारी दिए।

प्रकाशित: २५ श्रावण २०७८ ०५:५७ सोमबार

छोरी बलात्कार गर्ने बाबु र काका पक्राउ गोरखाको पालुङ्टार नगरपालिका