समाज

घरमा पाल्न राखिएको थारको बच्चा मृत भेटियो, घरबेटी पक्राउ

बाकाचोलमा राखेकै ठाउँमा मृत फेला परेको थारको बच्चा । तस्बिरः नागरिक

खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा घरमा पाल्न राखिएको थारको बच्चा मृत भेटिएको छ। स्थानीय नन्दकुमार तामाङले घरमा पालेको थारको बच्चा शुक्रबार बिहान मृत फेला परेको हो। 

थारको बच्चा पाल्ने तामाङलाई सव–डिभिजन वन कार्यालयले अनुसन्धानका लागि शुक्रबार नै नियन्त्रणमा लिएको जनाएको छ।

घरमा थार पालेको जानकारी आएपछि गस्ती पठाइएकै दिन थार मृत फेला परेको सव–डिभिजन वन कार्यालय ऐसेलुखर्कका फरेष्टर पुष्पकुमार राईले बताए।  

थारको बच्चाको घाँटीमा घारिलो हतियारले रेटेको देखिएको छ। भैंसीको पाडोजस्तो देखिने थारको बच्चा गत जेठ अन्तिम साता गोठालो गएका केटाकेटीले भेटेर घरमा ल्याएर राखेका थिए। केटाकेटीले खरायोको खोरमा राखेको थारको बच्चालाई केही समयपछि तामाङले पाल्नका लागि आफ्नो घरमा लगेका थिए। ‘गाउँमा थारको बच्चा पालेको हल्लाखल्ला भएपछि बिहान घट्नास्थल गएका थियौँ, टोली पुग्दा थार मरिसकेको अवस्थामा भेट्यौँ,’ राईले भने, ‘थारको बच्चा राती नै मारिएको रहेछ। स्याल वा मलसाप्रोले मारेको भनिए पनि घाँटीमा काटेको घाउ देखिएको छ।’  

गोठालो गएका स्थानीयले गाईगोरुलाई पछ्याउँदै गरेको अवस्थामा थारको बच्चालाई घर लगेको बताइएको छ। सो थारको बच्चाको नाभी समेत झरेको थिएन। जन्मेको करिब दुई दिनअघि मात्र थारको बच्चा आमाबाट छुटेको अनुमान गरिएको छ। थार उच्च पहाडी भेगमा पाइने जंगली जनावर हो। बाकाचोलका वडाध्यक्ष सन्तबीर तामाङले भने घट्नाको विषयमा विस्तृत जानकारी नभएको बताए।

प्रकाशित: २३ श्रावण २०७८ ०७:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App