समाज

दार्चुला तुइन प्रकरणः नेपालतर्फको घटनास्थलमा पुग्यो छानविन टोली

एसएसवीले तुइन फुकालिदिएपछि महाकाली नदीमा बगेका दार्चुला व्याँस गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामीको घटना छानविन गर्न पुगेको टोली शुक्रबार नेपालतर्फको घटनास्थल पुगेको छ। बिहीबार भारतीय क्षेत्रमा पुगेर सदरमुकाम खलंगा फर्किएको टोलीको स्थानीयले विरोध गरेपछि शुक्रबार टोली हेलिकप्टरबाट नेपाल क्षेत्रको मालघाट पुगेको हो।  

पीडित धामीका आफन्त तथा स्थानीय बिहीबार छानविन समिति आउने पर्खाइमा बसे पनि टोली भारतीय क्षेत्रमा अनुगमन गरेर फर्केपछि स्थानीयले विरोध जनाएका थिए। छानविन समिति पीडित पक्षको गाउँ र घटनास्थलमा नपुगी तुइन फुकालेर धामीको हत्या गर्ने पक्षकै भूमिमा गएको भन्दै स्थानीयले बिहीबार दिउँसो प्रदर्शन गरेका थिए। 

स्थानीयको विरोध प्रदर्शन र विभिन्न सञ्चार माध्यममा समाचार आएपछि टोली शुक्रबार दिउँसो हेलिकप्टरमार्फत् मालघाट पुगेको हो। गृह मन्त्रालयका सह–सचिव जनार्दन गौतमको नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा र सशस्त्र प्रहरी वलका वरिष्ठ प्रहरी उपरीक्षक सुरेशकुमार श्रेष्ठ घटनास्थल पुगेका हुन् भने समितिकी सदस्य दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट भने घटनास्थल गइनन्। 

‘टोली नेपाली सेनाको हेलिकप्टरमार्फत् घटनास्थल गएर फर्किसक्यो,’ निमित्त प्रमुख जिल्ला अधिकारी भट्टले भनिन्, ‘दिउँसो १२ बजे गएको टोली त्यहाँ पुगेर फर्केको हो।’  

साउन १५ गते  व्याँस गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामी वैदेशिक रोजगारीका बारेमा जानकारी लिन काठमाडौँ जान भनेर महाकाली नदीमा तुइन तर्ने क्रममा एसएसवीका जवानले रुखमा बाँधिएको तुइन फुकालि दिँदा उनी महाकालीमा बगेका थिए। 

प्रकाशित: २२ श्रावण २०७८ १२:०२ शुक्रबार

दार्चुला तुइन प्रकरण छानविन टोली एसएसवी महाकाली नदी