समाज

अवैध हतियारसहित बाँकेमा एकजना पक्राउ

पक्राउ परेका ब्यक्ति र बरामद गरिएको हतियार । तस्बिर : नागरिक

भरुवा बन्दुक र कटुवा पेस्तोलसहित एक ब्यक्ति पक्राउ परेका छन्। बाँके, नरैनापुर गाउँपालिका वडा नम्बर ६ दोन्द्रा निवासी ५० वर्षीय छोटेलाल राँढ पक्राउ परेका हुन्। 

राढले हातहतियार बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह दाङबाट खटिएर आएको टोलीले बिहीबार बेलुकी ७ बजेतिर पक्राउ गरेको हो।  

पक्राउ परेका ब्यक्तिको साथबाट एक थान भरुवा बन्दुक र त्यसमा लाग्ने ३ थान छर्रा तथा एक थान कटुवा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। पक्राउ गरेपछि उनले बोकेको रातो रङको झोला खान तलासी गर्दा झोलाभित्र रहेको कटुवा पेस्तोल बरामद गरिएको उनले बताए। 

अभियुक्तविरुद्ध आवश्यक अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले जानकारी दिए।

प्रकाशित: २२ श्रावण २०७८ ११:०० शुक्रबार

अवैध हतियार भरुवा बन्दुक र कटुवा पेस्तोल