समाज

जुम्लामा नेपाली सेनाको चौतर्फी प्रशंसा

नागरिक सैनिक सम्बन्धलाई सुमधुर बनाउँदै गएपछि जुम्लामा नेपाली सेनाको चौतर्फी प्रशंसा हुन थालेको छ। सेना जुम्लावासीको सुख दुःको साथी बनेको छ। अस्पतालमा बिरामीलाई रक्तदान गर्नेदेखि ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर चलाउने र पूर्वाधार विकासका कार्यमा संलग्न हुने भएपछि सेना र जनताबीचको सम्बन्ध निकै बलियो बनेको हो।  

जुम्लाका चियाचौतारी, गाउँबस्तीदेखि चौकचौकमा नेपाली सेनाकाे उच्च प्रशंसा भइरहेको छ। कोरोना महामारीमा सेनाले निर्वाह गरेको भूमिकाले जुम्लावासी उत्साहित छन्। सेना एक अभिभावक हो, मलामी पनि हो भन्दै सेनाप्रतिको माया र स्नेह दिनप्रतिदिन बढ्दै गइरहेको नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही बताउँछन्।  

दुरदराजका क्षेत्रमा स्वास्थ्य शिविर राख्ने, पूर्वाधार विकासमा साँझेदारी गर्नेदेखि मर्दापर्दाको साथी नेपाली सेना भएको उनले बताए। अध्यक्ष शाहीले भने, ‘सेनाभित्रको अनुशासन अहिलेसम्मको शान हो। यो अनुशासन कुनै क्षेत्रमा पनि देखिँदैन। अब सैनिक अनुशासनको कार्यान्वयन समुदायस्तरमा लागु गर्न जरुरी छ। यो नै सैनिक नागरिक सम्बन्धको उदाहरण हुनसक्छ।’

उनले नेपाली सेनाको कोर्ष समुदायमा साँझेदार गर्दा उपयुक्त हुने प्रतिक्रिया दिए। पहिले हतियारधारी पोशाकसहितको सेना देख्ने वित्तिकै समुदायमा त्रास उत्पन्न हुन्थ्यो। अहिले सेना देख्ने वित्तिकै भरोसा जाग्छ। विपत्तिको सहारा नै सेना बनेको छ। उनले थपे, ‘सेनाभित्रको चेन अफ कमाण्डले प्रभावित बनाएको छ। यो अन्य संस्थामा पनि लागु हुनुपर्छ। यो नै सेनाबाट सिक्नु पर्ने पाठ हो।’

‘सेना सीमा सुरक्षा र शान्ति सुरक्षामा मात्र केन्द्रित हुन्छ भन्ने भ्रम हटिसकेको छ। सेना बेसहाराको सहारा हो भन्ने पनि प्रमाणित गरिरहेको छ। कैयनका ज्यान बचाउन अग्रसर छ। प्रत्यक्ष रुपमा सामाजिक कार्यमा संलग्न छ। जनता सेनाप्रति उत्साहित छन्। अब नेपाली सेनाको अनुशासन र सैनिक शिक्षा पनि समुदायमा फैलाउन जरुरी देखिएको छ,’ उनले भने।    

सेनाले निर्वाध रुपमा समाज सेवामा काम गरिराखेको छ। कम लगानीमा गुणस्तरको काम गरेको छ। कोभिड १९ रोकथाम र नियन्त्रण र शव व्यवस्थापनमा सेनाले गरेको कार्यको प्रशंसा भइरहेको छ।  

नन्दाबक्स गण जुम्लाका गणपति रबिन थापाले नागरिक सैनिक, नागरिक र सञ्चारकर्मीबीचको सम्बन्ध प्रगाढ हुँदै गएको बताए। विगतको समय के भयो? त्यो थाहा भएन', उनले भने, 'अब सम्बन्ध राम्रो बनाउनु पर्छ। सेना भित्रको राम्रो पक्ष सिकाउन तयार छौँ।’

उनले सेना भित्रको स्रोतसाधनको भरपुर प्रयोग गरेर भएपनि जनमैत्री कार्यमा जोड दिने बताए। विपद व्यवस्थापन, शान्ति सुरक्षा, विकास निर्माण, स्वास्थ्य शिक्षाका क्षेत्रमा काम गर्न चाहन्छौँ। गणपति थापाले भने, ‘प्रभावकारी समन्वय र सहकार्यको खाँचो छ। समयमै सूचना र जानकारीको जरुरत छ।’

नेपाली सेनाले जुम्लामा विद्यालय भवन निर्माण, खेलमैदान, ब्याडमिन्टन काेर्ट, शौचालय निर्माणदेखि पुलपुलेसा निर्माण तथा मर्मतमा प्रत्यक्ष जनतासंग जोडिएर कार्य गर्न थालेको छ। कोरोना भाइरसविरुद्धको सचेतना फैलाउनेदेखि कोभिड संक्रमितको उर्जा थप्ने कार्यमा जोड दिएको छ। यहाँको रैथाने उत्पादन वृद्धिका लागि किसानको बारी बगैचामै पुगेर हौसला दिने हरेक किसानको साथमा नेपाली सेना छ भन्ने सन्देश प्रवाह गर्न सफल भएको छ।  

श्री नम्बर २४ बाहिनीअड्डाका बाहिनीपति यमबहादुर सापकोटा नागरिक सैनिक सम्बन्ध बलियो बन्दा काम गर्न निकै सहज भएको बताउँछन्। उनले भने,‘हिजो म नागरिक थिए। सेनामा जागरिक खाएर सेनाको ओहोदामा छु। फेरि अवकास हुन्छु म फेरि नागरिक नै हो। त्यसैले नागरिक सैनिकबीचको सम्बन्ध प्रगाढ बनाउनु पर्छ। यो मार्गमा नेपाली सेना लागिसकेको छ।’

उनले जनहित र जवानहितको काम गर्नु अहिलेको अपरिहार्य भएको बताए। पछिल्लो समयमा सेनाले जनताको मनमुटुमा भिजेर कार्य गरिरहेको स्मरण गराउँदै। तत्कालिन कर्णालीका पाँचवटै जिल्लामा रहेका सैन्य व्यारकलाई जनसम्बन्ध विस्तार कार्यमा जोड दिन निर्देशन गरिएको बताए।  

२४ नम्बर बाहिनी अड्डाले तत्कालिन कर्णालीका पाँच जिल्ला हेर्छ। एक गण छ। अनेत्र नेपाली सेनाको गुल्म छन्। सबै व्यारेकमा भ्रमण गरेर जनहित र जवानहितको काम गर्न निर्देशन दिएको उनी बताउँछन्।  

नेपाली सेनाको कल्याणकारी कोषबाट विकास निर्माणका काम भइरहेका छन्। सेनाले जनताको सुख दुःख र विकासमा साथ दिनुपर्छ। नेपाली सेनाले मात्र उदाहरणीय रुपमा कार्य गर्न सक्छ, भन्ने सन्देश फैलाउन जरुरी छ', बाहिनीपति सापकोटाले भने, ‘विकास निर्माणमा समन्वय गर्ने वातावरण बनाइदिनुस। बाटो नहुँदा हवाइ यातायातमा निकै सकस हुन्थ्यो। बाटो नेपाली सेनाले बनाइदियो। यहाँ उत्पादित कृषिबस्तु बजारसम्म लैजान सहज बन्यो। सहजै रुपमा गाडी चढेर जान सकिने अवस्था आयो। यो भन्दो राम्रो कार्य के हुन सक्छ र?’

सेनाले कर्णालीमा भौतिक संरचना १, सडक सुचारु ४, बाटोघाटो निर्माण २, सचेतना कार्यक्रम ३ ठाउँमा, काठेपुल निर्माण कार्य लगायतका ५४ वटा जनहितका काम गरेको छ। जनता र सेनाबीचको आपसी समन्वयका आधारमा यी काम भएका हुन्।  

उनले जुम्लास्थित नन्दाबक्स गण नन्दा ब्लड बैंकका रुपमा स्थापित भइसकेकोमा खुसी व्यक्त गरे। बाहिनीपति सापकोटा गाउँमा जाने किसानसंग भेटघाट गर्ने, कृषि बस्तु उत्पादनमा प्रोत्साहित गर्ने, सैनिक शिक्षा बारेमा सहजीकरण गर्ने र जनताका हरेक पिरमर्का, सुख दुःख, दुखेसा, गुनासा सुन्ने कार्यमा सक्रिय छन्।  

सेनाले पटक पटक पत्रकार तथा सञ्चारकर्मीसंग भेटघाटको आयोजना गरेर सेनाले गरेका हरेक कामकाजका बारेमा जानकारी दिँदै आएको छ।

यसैबीच यसै साता नवनियुक्त पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाहीले जुम्लामा रहेको ब्यारेकमा भ्रमण गरे। यो जुम्लामा पहिलो भ्रमण थियो। यसअघि डोल्पा बसिसकेका उपरथी शाहीले जुम्लामा सेनाले थालेको नागरिक सैनिक सम्बन्धको प्रशंसा गरे। यहाँको बस्तुस्थितीका बारेमा बाहिनीपति सापकोटाले सहजीकरण गरेका थिए। सो अवसरमा उपरथी शाहीले नागरिक सैनिक सम्बन्ध सुधार गर्न निर्देशन दिएको बाहिनीपति सापकोटाले जानकारी दिए। यहाँका ब्यारेक र स्थानीय स्तरसम्म उनी पुगेका थिए।

'सुगममा बसेका मान्छेको दुर्गम तिर हेर्ने नजर भिन्न प्रकारको हुन्छ', बाहिनीपति सापकोटाले भने,‘जुम्ला भ्रमणपछि पश्चिम कमाण्ड सेनापति सेनाको काम प्रति सन्तुष्ट भएर फर्कनु भएको छ। नागरिक सैनिक सम्बन्ध सुधारका लागि अघि बढ्न निर्देशन दिनुभएको छ। यो नै यहाँको ब्यारेकको लागि उर्जा बनेको छ। आगामी दिनमा झन सम्बन्ध सुधारको लागि हौसला मिलेको छ।’

प्रकाशित: २१ श्रावण २०७८ ०८:५३ बिहीबार

चौतर्फी प्रशंसा नागरिक सैनिक सम्बन्ध नेपाली सेना