समाज

'खोलामाथि झुण्डिएको जीवन'

महाकाली नदीमा तुइन तर्दा २६ जनाको ज्यान गयो

फाइल तस्बिर

तल उर्लदों महाकाली। त्यही महाकालीमाथि फलामको मसिनो तार वारपार गरेर बाँधिएको हो। त्यही तारमा पुस्तौंदेखि दार्चुलेली जीवन झुण्डिएर बाँचिरहेको छ। ‘हामी पुस्तौंदेखि महाकाली नदीमा झुण्डिएर बाँचिरहेका छौँ,’ व्याँस गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मंगलसिंह धामीले भने, ‘दैनिक उपभोग्य सामान किनमेल गर्न हामीलाई महाकाली नदी वारपार गर्न तुइनकै डोरीमा झुण्डिनु पर्ने बाध्यता छ।’

सानो कामले जिल्ला सदरमुकाम आउजाउ गर्न पनि आफूहरुले भारतीय बाटो भएर हिँड्नु पर्ने बाध्यता रहेको बताउँदै उनले भने, ‘नेपालबाट सदरमुकाम जान डेढ दिनको बाटो हिँड्नु पर्छ भने तुइन तरेर पारि भारत जाँदा डेढ घण्टाको मोटर चढेर पुग्न सकिन्छ।’ मोटरबाट आउजाउ गर्नका लागि पनि यहाँका स्थानीयले महाकाली नदीमाथिको फलामे तारमा झुण्डिनु पर्ने बाध्यता रहेको उनले बताए।  

महाकाली नदीमा बाँधिएको तुइन तर्दैगर्दा ब्याँस गाउँपालिकामा अहिलेसम्म २६ जनाले ज्यान गुमाइ सकेको व्याँस गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता धिरनसिंह बुढाथोकीले बताए। उनले भने, ‘२०५० साल यता महाकालीमा तुइन तर्ने क्रममा २६ जनाले ज्यान गुमाइ सकेका छन्।’ गत शुक्रबार बिहान व्याँस गाउँपालिका–२, मालका ३० वर्षिय जयसिंह धामीको तुइन चुँडिएर मृत्यु भएपछि तथ्याङ्क संकलन गर्दा अहिलेसम्म २६ जनाले व्याँस गाउँपालिकाका १० स्थानमा राखिएका तुइन तर्दै गर्दा ज्यान गुमाएको भेटिएको उनले बताए।  

अहिले पनि व्याँस गाउँपालिकामा मात्रै १० स्थानमा तुइन रहेको बताउँदै उनले भने,‘नेपालको बाटोबाट सदरमुकाम जान लामो समय हिँड्नु पर्ने र पारि भारतको बाटोबाट डेढ घण्टामै पुग्न सकिने भएकाले ठाउँठाउँमा तुइन रहेका छन्।’ तुइन तरेर भारतीय मोटरबाटो बाट डेढ घण्टामै जिल्ला सदरमुकाम पुग्न सकिने भएकाले यहाँका गाउँ गाउँमा तुइन सञ्चालनमा रहेको उनी बताउँछन्। ‘ठाउँठाउँमा झोलुङ्गे पुल भइदिएको भए अकालमै ज्यान गुमाउनु पर्ने थिएन,’ उनले भने,‘नभए नेपालकै बाटो सदरमुकाम जाडिदिएको भए यहाँका नागरिकको ज्यान जोखिममा हुने त थिएन।’  व्याँस गाउँपालिका वडा नम्बर २ को गाटीबगर, कल्जु, घट्टेखोला, तल्ला दुम्लिन, रिठान, विन्दला, मालघाट र वडा नम्बर ४ को बर्तीबगर, मलघट्टे र दोकटमा तुइन सञ्चालनमा छन्।  

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) अन्तर्गत झोलुङ्गे पुल योजनाका अनुसार दार्चुलामा चार ठाउँका तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गरिन थालिएको छ। डोलिडारले बर्तीघाट सनसेरामा बरती झोलुङ्गे पुल, राल्पामा मल झोलुङ्गे पुल, बाँकु उकोमा बाँकु झोलुङ्गे पुल र हुतीमा बडुगाउँ झोलुङ्गे पुल निर्माण थालिएको छ।

परम्परागत रुपमा चलनचल्तीको तुइन मात्रै विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गरिएको बताउँदै डोलिडारका सिनियर डिभिजनल इञ्जिनिय गौरीकुमार श्रेष्ठले भने,‘पुराना घाटमा परम्परागत रुपमा चलेका तुइन मात्रै विस्थापित गरेर त्यही ठाउँमा झोलुङ्गे पुल निर्माण गरिएको हो।’ अहिले बर्तीघाट सनसेरामा बरती झोलुङ्गे पुल र राल्पामा मल झोलुङ्गे पुलको काम ३० प्रतिशत  र बाँकु उकोमा बाँकु झोलुङ्गे पुल र हुतीमा बडुगाउँ झोलुङ्गे पुल ९५ प्रतिशत काम सकिएको डोलिडारको तथ्याङ्कले देखाउँछ।

२०७२ असोज २५ गते  पहिलोपटक प्रधानमन्त्री निर्वाचितपछि पदभार ग्रहण गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर रहेका २ सय २७ तुइन, साँघु र फट्केलाई विस्थापित गरेर ती ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने भन्दै निर्णयमा हस्ताक्षर गरेका थिए। तत्कालीन समयमा प्रधानमन्त्री ओलीले तुइन, फड्के तथा साँघुलाई विस्थापित गर्ने भनेर निर्णयमा हस्ताक्षर गर्दा दूरदराजका तुइन तर्ने नागरिकमा उत्साह थपिए पनि दार्चुलाबासीलाई भने हर्ष न विस्मात बनेको छ। दार्चुलाको महाकाली नदीमा रहेका १० वटा तुइन विस्थापित गर्न सरकारलाई अन्तर्राष्ट्रिय सहमति लिनुपर्ने छ। दुई देशबीच सीमा रहेको महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गर्न सहमति लिनुपर्ने भएको हो। भारतीय सीमा सुरक्षा बलले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै पटक–पटक तुइन काट्ने गरेको घटना चर्चामा आउने गरेको छ।

व्याँस गाउँपाालिकाको घाटमा २०५० साल यता तुइन तर्दै गर्दा मृत्यु भएकाहरुको नामावली।  
व्याँस गाउँपाालिकाको घाटमा २०५० साल यता तुइन तर्दै गर्दा मृत्यु भएकाहरुको नामावली।  

प्रकाशित: १९ श्रावण २०७८ ११:४५ मंगलबार

महाकाली नदीमा तुइन २६ जनाको ज्यान गयो