समाज

मलेसियामा खोटाङका रनबहादुरको मृत्यु

मलेसियामा ज्यान गुएका खोटाङका रनबहादुर बिष्ट । तस्बिर : फेसबुक

वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङका रनबहादुर बिष्टको मृत्यु भएको छ। बसिरहेकै ठाउँमा अचानक बेहोस भएका बिष्टको मलेसियाको काजाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

शुक्रबार बेलुका बस्दै आएको ठाउँमा अकस्मात बिरामी परेपछि बिष्टलाई अन्य नेपालीको सहयोगमा अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको मलायाखबर डटकमले जनाएको छ। विगत १८ वर्ष अघिदेखि मलेसिया बस्दै आएका बिष्टको शव अस्पतालमै राखिएको छ। 

बिष्टको मृत्युको कारण खुल्न बाँकी छ। यद्यपी, उनी सुगर र रक्तचापको समस्याबाट पीडित रहेको बताइएको छ। विष्टको मृत्युबारेमा सामाजिक सञ्जालबाट जानकारी पाएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए। १२ वर्षसम्म उनलाई पर्खेर बसेकी श्रीमतीले घरकै सल्लाहमा दोश्रो विवाह गरिसकेका छन्। 

‘मैले पनि सामाजिक सञ्जालबाट थाहा पाएको हो। गाउँमा बुझ्दा घट्ना यतार्थ रहेछ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘लामो समयसम्म घर नआएकाले घरपरिवारकै सल्लाहमा श्रीमतीले समेत दोश्रो विवाह गरिसकेको खबर आएको छ।’  

पछिल्लो समय अवैध बनेका उनी गत जुलाई १ तारिखदेखि मलेसियाको सेलाङ्गर तामिनजयामा एक होटलमा काम गर्दै आएका थिए। मलेसियास्थित नेपाली दूतावाससँग समन्वयमा शव नेपाल पठाउनका लागि नेपाली जनसम्पर्क समिति मलेसियाले पहल गरिरहेको जनाइएको छ।

प्रकाशित: १८ श्रावण २०७८ १४:२६ सोमबार

वैदेशिक रोजगारी