समाज

कर्णाली नदीमा डुंगा दुर्घटनाः घाइते मध्य एकको मृत्यु, तीन बेपत्ता

फाइल तस्बिर

कर्णाली नदीमा डुंगा पल्टिएर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। स्थानीय शिक्षक पदमबहादुर भुलका अनुसार मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको हो। उनका एक महिनाका छोरा कर्ण सलामी मगर समेत घाइते छन्।  

कैलालीको मोहन्याल गाउँपालिका–३ राँगा पलेखा नजिकै दिउँसो १२ बजेतिर नदीमा डुंगा पल्टिँदा थप ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

बेपत्ता हुनेमा सोही ठाउँका २० वर्षकी उर्मिला सलामी मगर, उनको १० दिनको शिशु र २० वर्षकी पार्वती थापा रहेका छन्। प्रहरीका अनुसार सोही डुंगामा रहेका अन्य पाँच जना भने पौडिएर जोगिएका छन्।  

उनीहरु सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन र उपचार गर्न गैरहेका बेला दुर्घटना भएको हो। घटनास्थलमा प्रहरी र स्थानीयले बेपत्ताको खोजी कार्य गरिरहेका छन्। 

नदीको बहाव उच्च भएकाले खोजी कार्यमा कठिनाई भैरहेको छ।

प्रकाशित: १७ श्रावण २०७८ ०९:४१ आइतबार

कर्णाली नदी डुंगा पल्टिँदा बेपत्ता