समाज

जीत स्मृति ब्रिगेडका भौतिक संरचना स्थानीयले लुटे

तत्कालीन जीत स्मृति ब्रिगेडले जनयुद्ध दिवसमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम। फाइल तस्बिर: नगेन्द्र /नागरिक

लेकवेशी नगरपालिका–६ खोल्टेपानीमा रहेको तत्कालीन बिद्रोही नेकपा माओवादीको ब्रिगेड कार्यालयका भौतिक संरचनाहरु स्थानीयले लुटपाट गरेका छन्। सेना समायोजनपछि जीत स्मृति ब्रिगेड सशस्त्र प्रहरीको जिम्मामा थियो। बैशाख १० गते सशस्त्र प्रहरीले त्यहाँको भौतिक संरचना नगरपालिकालाई जिम्मा लगाएर छोडेको थियो। जीत स्मृति ब्रिगेडमा ६७ वटा घर टहरा थिए। ति सबै संरचनाहरु स्थानीयले लुटपाट गरेका छन्।  

खोल्टेपानी वरपरका चार गाउँका स्थानीयले ६७ घरका जस्तापाता, काठलगायतका सामानहरु लुटेका हुन्। नगरप्रमुख गगनसिंह सुनारले स्थानीयहरुले ति सामाग्रीहरु कहिले लुटे भन्ने जानकारी आफूलाई नभएको बताए। ‘हामीले त यहीँ साउन ११ गते मात्रै जीत स्मृति ब्रिगेट लुटिएको जानकारी पायौं,’ नगर प्रमुख सुनारले भने, ‘के कति सामाग्रीहरु लुटपाट भयो, त्यसको यकिन विवरण आएको छैन्।’ उनले स्थानीयले लुटेका सामाग्रीहरु खोज्नका लागि प्रहरीमा जाहेरी दिइएको बताए।

साउन १० गते चार वटै गाउँका स्थानीयहरु जम्मा भएर बनाएका भौतिक संरचनाहरु भत्काएर जस्तापात, काठलगायतका आवश्यक सामाग्रीहरु लगेर गएका थिए। ‘वडाध्यक्ष प्रत्यक्ष नदेखिएपनि उनकै संलग्नतामा स्थानीयहरुले दिउँसै बनाएका संरचना भत्काएर जस्तापाता र काठहरु लुटपाट गरेका हुन्,’ एक स्थानीयले भने, ‘लुटपाटमा संलग्न नभएकाहरुले नगरपालिकामा जानकारी गराएपछि घटना बाहिर आएको हो।’

२०६३ चैतमा खोल्टेपानीमा बसेको ब्रिगेड कार्यालय अन्र्तगत चार करोड भन्दाबढीको भौतिक संरचना थियो। एक ब्रिगेड कार्यालय, तीन बटालीयन र एसटीएफ फोर्सका गरेर १२८० जना लडाकुहरु खोल्टेपानीमा बस्थे। ‘झण्डै एक करोड रुपैयाँको चार वटा ठूला ट्रष्ट थिए,’ तत्कालीन ब्रिगेड कमाण्डर रमेश पौडेलले भने, ‘तराईबाट ल्याएका सालका काठ र जस्तापाता मात्रै जोड्दा पनि चार करोडबढीको भौतिक संरचनाहरु हामीले सरकारलाई हस्तान्तरण गरेका थियौं।’ यी संरचनाहरु माओवादीले २०६९ सालमा सरकारलाई हस्तान्तरण गरेको थियो। त्यसपछि सरकारले ब्रिगेड बसेको ठाउँमा सशस्त्र प्रहरी र डिभिजन बसेको ठाउँमा नेपाली सेनालाई खटायो।

इलाका प्रहरी कार्यालय लेकवेशीका इन्चार्ज दल झुकालका अनुसार शनिबारसम्म लुटिएका मध्ये ९३ जस्तापाताहरु संकलन गरिएका छन्। ‘३३ जनाले ९३ वटा जस्तापाता बुझाएका छन्,’ झुकालले भने, ‘कति जस्तापाता, काठ र अन्य सामाग्रीहरु लुटियो भन्ने तथ्याङ्क हामीसँग छैन्।’ उनले जीत स्मृति ब्रिगेटबाट लुटिएका सामाग्रीहरु खोजी भइरहेको बताए। ‘सशस्त्र प्रहरीले नगरपालिकालाई हस्तान्तरण गरेपछि त्यसको संरक्षणको दायित्व पनि नगरपालिकाको हो,’ उनले भने, ‘अहिले ब्रिगेड कार्यालय लुटियो भन्नेबारेमा पनि नगरपालिका केही बोलेको छैन्।’ उनले साउन १० गते लुटिएको अनुमान गरे। ‘अहिलेसम्मको अनुसन्धानले खोल्टेपानी वरपरका स्थानीयहरुले साउन १० गते लुटपाट गरेको देखिन्छ,’ उनले भने, ‘अनुसन्धानकै क्रममा रहेकाले यकिनसाथ भन्न सकिन्न।’

प्रकाशित: १७ श्रावण २०७८ ०७:१६ आइतबार

जीत स्मृति ब्रिगेडका भौतिक संरचना स्थानीयले लुटे