समाज

मेलम्चीमा फेरि बाढी: रातो पुल बगायो, १२ घर टहरा पनि बगे

मेलम्ची खोलामा फेरि बाढी आएको छ। शनिबार रातिदेखिको अबिरल वर्षापछि मेलम्चीमा आएको बाढीले आइतबार बिहान रातो पुल बगाएको छ। यसअघिको बाढीले क्षति पुर्‍याएका १२ घर, टहरा पनि बाढीले बगाएको छ।  

सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले बाढीले हेलम्बु गाउँपालिका जोड्ने मेलम्ची खोला माथिको रातो पुल बिहान ८ बजेतिर बगाएको बताए। शनिबार रातभर मेलम्ची यो पक्की पुल चढेर बहेको थियो। अरु दुईटा झोलुंगे पुल पनि बगाएको अनुमान गरिएको छ। खोलामा ती पुल देखिएका छैनन्। यसअघिको बाढीले क्षति पुर्‍याएका हेलम्बुदेखि मेलम्चीसम्मका १२ घर, टहरा पनि बाढीले बगाएको एसपी अधिकारीले बताए।

यसअघि गत असार १ गते हेलम्बु गाउँपालिका–१ भ्रेमाथाङबाट आएको पहिरोले मेलम्ची खोलामा बाढी ल्याउँदा झण्डै ३० किलोमिटर तल मेलम्ची बजारसम्म ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीले पाँचको मृत्यु भएको थियो भने अझै १५ बेपत्ता छन्। बाढीले अम्बाथान, तिम्बु, चनौटे र पूरानो मेलम्ची बजार तहसनसह बनाएर बगर बनाएको थियो। एक दर्जन मोटरेबल, झोलुंगे पुल बगाएको थियो।  

पछिल्लो बाढीले रातो पुल बगाएपछि हेलम्बु एक्लिएको छ। अघिल्लो बाढीबाट मेलम्ची–हेलम्बु करिडोरमा भएकामध्ये यो पुल मात्र बचेको थियो। जाली गारो र ढुंगाले यो पुल जोेगाउने प्रयास भइरहेका बेला पुनःअर्को बाढी आएको हो। बाढी चनौटे बजार भएर बहिरहेको छ। यसअघिको बाढी पनि यही बजारबाट बहेको थियो। खोलालाई पुरानै धारमा फर्काएर बजार जोगाउन प्रयास भइरहेको थियो।  

बाढीले यसअघि जोगिएका ग्याल्थुम र तालामाराङ बजार जोखिममा परेको एसपी अधिकारीले जनाए। तालामाराङको प्रहरी चौकी बाढीको जोखिममा परेपछि शनिबार राति नै सुरक्षाकर्मी अन्यत्र सरेका छन्। ‘असार १ गतेको जसरी नै मेलम्चीमा बाढी आएको छ,’ एसपी अधिकारीले भने, ‘खोलो लेदो माटो, काठपातसहित उर्लिएर बहिरहेको छ।’  

यसअघिको बाढीको क्षतिको विवरण संकलन भइ नसक्दै तथा नदी नियन्त्रण र पुनर्निर्माणको बहस हुँदै गर्दा असार १ गते सम्झाउने गरी मेलम्चीमा पुनः बाढी आएको हो। अघिल्लो बाढीपछि पुनर्निर्माणमा झण्डै दुई अर्व रुपैयाँ लाग्ने अनुमान गरिँदै आएको थियो।  

प्रकाशित: १७ श्रावण २०७८ ०३:५४ आइतबार

मेलम्चीमा फेरि बाढी रातो पुल बगायो