समाज

सीमा नाकामा नेपालीलाई भारतीय सुरक्षाकर्मीको फरक ब्यवहार

बाँकेस्थित नेपाल–भारत सीमा नाका भारतले निर्माण गरेको बाँधजस्तो सडकमा गस्ती गर्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) । फाईल तस्बिर: अर्जुन/नागरिक

बाँकेसहित आसपासका जिल्लाका सर्वसाधारण किनमेलका लागि जाने ठाउँ हो, भारतको रुपैडिहा बजार। दिनहुँ ठूलो संख्यामा जाने भएकाले रुपैडिहाको सिंगो ब्यापार ब्यवसायलाई नेपाली ग्राहकले धानेको त्यहाँका ब्यापारी स्वीकार गर्छन्। कोरोना भाइरस(कोभिड–१९)महामारी आउनुभन्दा अगाडिसम्म नेपाली ग्राहकबाट रुपैडिहामा दैनिक करोडौंको कारोबार हुन्थ्यो।  

महामारी फैलिएयता नेपाली नागरिकको आवत–जावत केही कम छ। तरपनि त्यहाँ किनमेलका लागि जाने क्रम रोकिएको छैन। रुपैडिहाको आर्थिक अवस्था बलियो बनाउनमा नेपाली नागरिकले गरेको योगदानको मूल्यांकन छैन। बरु, किनमेल र अन्य कामका लागि रुपैडिहा जाने प्रायः नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीबाट दिनहुँ कुटाई खानु परेको छ। प्रत्यक्षदर्शीका अनुसार प्रायःजसो दिन भारतीय सुरक्षाकर्मीले कुनै न कुनै नेपाली नागरिकलाई कुटपिट, अभद्र ब्यवहार, रकम असुली जस्ता ज्यादती गरिरहेका हुन्छन्। 

‘किनमेल र अन्य कामका लागि रुपैडिहा जाने प्रायः नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीबाट दिनहुँ कुटाई खानु परेको छ। पीडितले नेपाली सुरक्षाकर्मीलाई घटनाबारे जानकारी गराएपनि एसएसबीको ज्यादती रोकिएको छैन।’ 

भारतीय सुरक्षाकर्मीबाट पीडित भएका नेपाली नागरिकहरु न्यायका लागि जाने ठाउँ छैन। ‘कुनै कामका लागि भारत जाने नेपालीलाई त्यहाँका सुरक्षाकर्मीले गर्ने ब्यवहार कत्तिपनि राम्रो छैन,’ नेपाल–भारत सीमा नाका जमुनाहाका एक ब्यवसायीले नागरिकसँग भने, ‘किनमेलका लागि भारत गएको होस, या अन्य कामका लागि आवत–जावत गर्दा नेपालीले विभिन्न बहानामा कुटाई खाएकै हुन्छन्।’ नेपाली नागरिकहरु प्रायः भारतीय सीमा सुरक्षा बल एसएसबीबाट बढी पीडित भइरहेको उनले सुनाए।

नेपाल–भारत सीमा नाका जमुनाहादेखि रुपैडिहा हुँदै नेपाली मजदुर रोजगारीका लागि भारतका विभिन्न शहरमा जान्छन् भने भारतका विभिन्न ठाउँबाट रोजगारी गरेर रुपैडिहा हुँदै नेपालगन्ज प्रवेश गर्छन्। त्यसरी आवत–जावत गर्ने नेपाली मजदुरहरु पनि भारतीय सुरक्षाकर्मी(एसएसबी) को निसानामा पर्ने गर्छन्। चेकजाँचका नाममा नेपाली मजदुरसँग जबरजस्ती रकम असुल्ने, कुटपिट तथा दुर्व्यवहार गर्ने गरेको पीडित मजदुरले पटक–पटक गुनासो गर्दै आएका छन्। 

पीडितले नेपाली सुरक्षाकर्मीलाई घटनाबारे जानकारी गराएपनि एसएसबीको ज्यादती रोकिएको छैन। भारतीय सीमा सुरक्षा बल(एसएसबी) सामु नेपाली सुरक्षाकर्मी निरीह हुन्छन्। नेपालीमाथि गरेको ज्यादतीबारे उनीहरु भारतीय सुरक्षाकर्मीसँग प्रश्न गर्ने आँट समेत गर्दैनन्। भारतीय सुरक्षाकर्मीको ज्यादती खेपेका नेपालीका पीडा र गुनासा नेपाली सुरक्षाकर्मी समक्ष आईरहन्छन्।  

ईलाका प्रहरी कार्यालय जमुनाहाका ईन्चार्ज एवम् प्रहरी नायव निरीक्षक(सई) पुर्ण केसी नेपाली नागरिकले भारतीय सीमा सुरक्षा बल(एसएसबी)बाट पीडित भएको गुनासो गर्ने गरेको बताउँछन्। ‘चेकजाँचका नाममा बिना कारण कुटियो, दुर्व्यवहार गरियो भनेर नेपालीले पीडा सुनाउँछन्,’ उनले भने। आफूहरुले भारतीय नागरिकलाई स–सम्मानका साथ आवत–जावत गर्न दिइरहेको तर भारतमा त्यहाँका सुरक्षाकर्मीबाट नेपालीलाई दुर्व्यवहार गरेको गुनासो आउने गरेको प्रहरी नायव निरीक्षक केसीले बताए। 

दुई देशका नागरिकलाई सहज आवत–जावत गराउन भारतीय जनपद प्रहरीसँग आवश्यक समन्वय गरिरहेको उनले सुनाए।

प्रकाशित: १६ श्रावण २०७८ १४:३९ शनिबार

भारतीय सुरक्षाकर्मी नेपाल–भारत सीमा नाका भारतीय सीमा सुरक्षा बल (एसएसबी) कुटपिट तथा दुर्व्यवहार नेपाली ग्राहक