समाज

बलात्कारको घटना मिलाउने जनप्रतिनिधि

रोल्पा प्रहरीले बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा जेठाजु नाता पर्ने एक ५१ वर्षीय पुरुषसहित ९ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। अनुसन्धानको क्रममा सो घटना गाउँघरमै मिलापत्र गराएको आरोपमा सोही गाँउका वडा सदस्य हिमबहादुर बिष्ट समेतलाई प्रहरीले पक्राउ गरेको हो।

साउन २ गते बिहान ३ बजेको समयमा घटनापश्चात् पीडित महिला कराएपछि ससुराले थाहा पाएका थिए। प्रहरीका अनुसार पीडितको ससुराले भोलिपल्ट बिहान वडा सदस्य हिमबहादुर बिष्टलाई खबर गरी छलफल गरिदिन आग्रह गरेका थिए।

वडा सदस्यले गाउँमा कटुवाललाई लगाएर मान्छे जम्मा गर्न लगाएका थिए। साउन ३ गते करिव १ बजेतिरबाट छलफल सुरु भएको थियो। छलफलमा अभियुक्तले आफ्नो गल्ती स्विकार गरेका थिए। छलफलमा  जुटेकाहरुले पीडकलाई बीसहजार रुपैँया जरिवाना तोके। जसमध्ये पाँच हजार पीडित महिलाको लागि र बाँकी पन्ध्र हजार रुपैयाँ गाउँको एक कुनै कोषको लागि छुटाउने समेत निर्णय भएको थियो।  

प्रहरीका अनुसार पीडितले पाउने ५ हजारमध्ये एकहजार बराबर छलफलमा जुटेकाहरुले चियापानी खाने भनी छुटाए भने पाँचसय पीडितले ससुरालाई मान राख्नको निमित्त दिनुपर्ने भयो। पीडितले त्यसै गरिन् तर उनले न्याय पाएको अनुभुति गरिनन्।

उनले आफ्नो बाबालाई सबै घटनाको बारेमा बेलिबिस्तार लगाइन्। भोलिपल्ट साउन ४ गते प्रहरी समक्ष यो घटनाको सूचना पुग्यो। पीडितको जाहेरीका आधारमा अभियुक्त भनेका पीडितको जेठाजु नाता पर्नेलाई तत्काल नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्यो।  

रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार बलात्कार गर्ने आरोप लागेका जेठाजु पुर्पक्षका लागि जेल चलान भएका छन् भने वडा सदस्यलाई एक लाख ५० हजार धरौटीमा छोडिएको छ। अन्य ससुरासहित तीन जनालाई ३० हजार धरौटी ४ जनालाई ६० हजार धरौटी लिएर छोडिएको छ।

प्रकाशित: १६ श्रावण २०७८ १२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App