समाज

दुर्घटना गरी फरार रहेका चालक र ट्रक नियन्त्रणमा

विराटनगर–५ स्थित नेपाल विद्युत् प्राधिकरण नजिक मृत अवस्थामा फेला परेका सुदर्शन शर्मा न्यौपानेलाई ठक्कर दिइ फरार भएको ट्रक र चालक पक्राउ परेका छन्।

मोटरसाइकललाई ठक्कर दिइ फरार भएको को १ क १३३३ नम्बर को ट्रक र चालक सुनसरी धरान उपमहानगरपालिका–२० देवीगाउँका २८ वर्षीय रामशरण राईलाई शुक्रबार पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। साउन ४ गते सोमबार राति साढे ८ बजेतिर विराटनगर महानगरपालिका–५ मुनालपथका ६७ वर्षीय न्यौपाने सडक किनारमा मोटरसाइकलमाथि घोप्टी परेको अवस्था मृत फेला परेका थिए।  

न्यौपानेले चलाएको को ४ प २३१६ नम्बरको मोटरसाइकलमाथि घोप्टी परेको अवस्थामा मृत भेटिएको बताउँदै मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने, ‘मृतकको अवस्था हेर्दा कुनै सावरीसाधनले ठक्कर दिएर मोटरसाइकलमा राखिदिए फरार भएको अनुमान गर्दै अनुसन्धान थालेका थियौं। घटना भएको समयमा भीषण पानी परेको र सडकमा विद्युत् नभएको हुँदा अँध्यारो हुँदा प्रष्ट देखिएको थिएन।’  

‘दक्षिणबाट उत्तरतर्फ जाँदै गर्दा मोटरसाइकललाई ठक्कर दिएको ट्रक चालक राईले स्वीकार गरेका छन्,’ डिएसपी राईले भने, ‘दुर्घटना हुँदा पानी परिरहेको र न्यौपानेलाई सोध्दा केही नभएको जवाफ दिएपछि उहाँलाई मोटरसाइकलमा राखिदिएको र भागेको होइन चालक राईले बताएका छन्। तर, हामीले घटनाको अझ अनुसन्धान गरिहेका छौं।’ 

प्रकाशित: ११ श्रावण २०७८ १०:४३ सोमबार