समाज

वर्षेनी डुबानमा कपन

ढलको उचित व्यवस्थापन नहुँदा कपनका मिलनचोक, गोपीकृष्ण हल, सरस्वतीनगरलगायत क्षेत्र वर्षेनी डुबानमा पर्दै आएका छन्। वर्षासँगै आएको बाढीले यस क्षेत्रका अधिकांश सडकमा पानी जम्ने गरेको छ।  

सडकको किनारबाट पानी पटाउने व्यवस्था नहुनु र  ढल व्यवस्थापनमा धेरै त्रुटि भएका कारण यो क्षेत्र जलमग्न बन्ने गरेको हो। चाबहिलको गोपीकृष्ण हल नजिकैको ढल फुटेर सडकबाट पानीको भेल निस्कने गरेको छ। कालोपत्र गरिएको सडक पनि ढलको पानीले उप्काएकाले  त्यहाँ ठूलाठूला खाल्डा बनेका छन्।  

मिलनचोकमा पानी परेपछि सडक र पसलको पेटीबाटै खोलो नै बग्ने गरेकाले स्थानीयवासी सडक पार गर्नसमेत सक्दैनन्। सडकमा भएका ठूल्ठूला खाल्डासमेत भरिएर आउने बाढीका कारण मोटरसाइकल, साइकल र स्कुटर चलाउनेले  खाल्डो नदेख्दा दुर्घटनासमेत हुने गरेको छ।  

घुँडासम्म आउने ढलको पानीमा सर्वसाधारण हातमा जुत्ता बोकेर पैदल हिँड्न बाध्य छन्। कपनवासीले वर्षौंदेखि यस्तो समस्या खेप्दै आएका हुन्। धेरैपटक स्थानीयवासीले सम्बन्धित निकाय तथा जनप्रतिनिधिसँग बाटो मर्मत तथा स्तरोन्नतिका लागि माग गरेपनि हुन्छ भन्ने तर काम नगर्ने प्रवृत्तिले हैरान भएका छन्।

ठूलो पानी पर्दा सडकबाटै खोला बग्छ । पानी र हिलोले भरिएको खाल्डोे नदेखिदा साना केटाकेटी, वृद्धवृद्धा तथा युवासमेत खाल्डोमा चुर्लुम्म डुब्ने गरेका छन्। यो नियति कपनवासीले पटकपटक भोग्दै आएका हुन्।  मिलनचोक नजिक बस्ने समीक्षा दाहाल सडकमा बगेको पानी देखाउँदै भन्छिन्, हेर्नुस् त यो सडक हो कि खोला हो? यहाँबाट कसरी पार हुने? यस्तो दुर्दशा  कहिलेसम्म सहने?  

मिलनचोक, साततले, कपन प्रहरी प्रभाग, आकाशे धारा हुँदै बालुवाखानी पुग्ने सडकको अवस्था पनि नाजुक छ। लामो समयदेखि खनिएको ढलको खाल्डो र यसैबाट बनेको हिलो र चिप्लोबाटो माथि बग्ने पानीको भेलले यहाँका बासिन्दा र व्यावसायी आजित भएका छन्। यस्तो समस्या समाधान नहुँदा व्यवसाय नै चौपट भएको उनीहरूको गुनासो छ। गुनासो सुनेर समस्या समाधान गर्न चासो दिने कोही नहुँदा उनीहरु झन आक्रोशित भएका छन्। रासस

प्रकाशित: ११ श्रावण २०७८ ०७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App