समाज

रौतहटमा बढ्यो अपराध

रौतहटमा अघिल्लो वर्षको तुलनामा अपराध बढेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले अघिल्लो आवको तुलनामा गत आवमा केही प्रतिशतले जिल्लामा अपराध बढेको देखिएको जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले गत वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गरेपछि अघिल्लो वर्षको तुलनामा विभिन्न प्रकृतिका अपराध गरी समग्रमा २.४८ प्रतिशतले वृद्धि भएको देखिएको हो । आव २०७६/७७ को तुलनामा रौतहटमा आव २०७७/७८ मा विभिन्न प्रकृतिका अपराधको संख्यामा २.४८ प्रतिशतले वृद्धि भएको एसपी शाहले जानकारी गराएका छन् ।  

गत आवमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, ज्यानसम्बन्धी कसुर, भवितव्य ज्यान, फुटकर ज्यान, विष सेवन गरी आत्महत्या, झुन्डिएर आत्महत्या, चोरी, लागुऔषध, हातहतियार खरखजाना, जुवा, ठगी, अभद्र व्यवहार, बहुविवाह, बालविवाह, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, बाल यौन दुव्र्यवहार, जबर्जस्ती करणीसम्बन्धी आपराधिक षड्यन्त्र र आपराधिक लाभ, मानव बेचबिखन ओसारपसार, सवारी ज्यान तथा नागरिकता गरेर ७०१ मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको एसपी शाहले जानकारी गराए ।  

गत वर्षका अपराधमध्ये ४ सय २४ मुद्दालाई फछ्र्योट गरी कानुनी कारबाही गरिँदै २ सय ७७ वटा मुद्दा फछ्र्योट नभई चालु आवमा सारिएको एसपी शाहले स्पष्ट पारे । एसपी शाहले कोभिडका कारण बेरोजगार भई मानसिक तनाव खेपेकाहरू विष सेवन गरेर ३० र झुन्डिएर ९४ गरी १ सय २४ जनाले आत्महत्या गरेको जानकारी गराए ।  

चुनौतीको समयमा रौतहट जिल्लाको जिम्मेवारी पाउँदा निकै कठिन अवस्थाबाट गुज्रिएर चर्चाको शिखरमा रहेका निरञ्जन राम हत्याकाण्ड, हनुमान मन्दिरका पुजारी श्रीराम साह हत्याकाण्ड, मिन्त्रा देवी हत्याकाण्ड, महेश तिवारी र जगरनिया देवी तिवारी काण्ड, सन्झा कुमारी र अमृताकुमारी साह हत्याकाण्डको गुत्थी सुल्झाएर उक्त घटनामा संलग्न व्यक्तिलाई पोलिग्राफलगायत विभिन्न विधिद्वारा अनुसन्धान गरी सफलता प्राप्त गरेको र आरोपितलाई नियन्त्रणमा लिई पुर्पक्षका लागि कारागार चलान गराउन रौतहट प्रहरी सफल भएको एसपी शाहको दाबी छ। 

साथै कोभिडको बेला सीमापारि भारतबाट चोरी तस्करी गर्नेहरूमाथि सूक्ष्म निगरानी राख्दै वर्षभरमा ४ करोड ३ लाख ८८ हजार ७ सय ५० रुपैयाँ मूल्य बराबरको मालसामान आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएको बताउँदै शाहले हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा स्रोत नखुलेको १ करोड १७ लाख ८६ हजार २० रुपैयाँ बरामद गरिएको पनि बताएका छन् ।

प्रकाशित: १० श्रावण २०७८ ०६:०६ आइतबार

रौतहटमा बढ्यो अपराध