समाज

विदेशी मुद्रासहित दुई भारतीय पक्राउ

विराटनगरमा दुई जना भारतीय नागरिक प्रतिबन्धित भारतीय रुपैयाँ र अमेरिकी डलरसहित शुक्रबार पक्राउ परेका छन् । भारतको उत्तर प्रदेश लखनउका ३५ वर्षीय सन्दीप सिंह र ३४ वर्षीय अतुल कुमारलाई विदेशी मुद्रासहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । 

शुक्रबार दिउँसो १ बजेतिर भारतको जोगबनी हुँदै नेपाल आउँदै गरेको उनीहरुलाई विराटनगर महानगरपालिका–१७ स्थित मटेरुवा नाकाबाट पक्राउ परेको बताउँदै, मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने, ‘शंका लागि चेक गर्दा उनीहरुको साथबाट नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ २ लाख ८ हजार ५ सय भारतीय रुपैयाँका साथै २ हजार २ सय १४ डलर अमेरिकी डलर बरामद गरिएको छ ।’

पक्राउ परेका अतुलसँग प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय दरका २ सय थान र सन्दीपका साथबाट प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय दरका २ सय १७ थान तथा अमेरिकी डलर १ सय दरको २१ थान, २० दरको ५ थान, १० दरको १ थान र १ दरको ४ थान बरामद गरेको डिएसपी श्रेष्ठले बताए ।    

पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाएको प्रहरीले जनाएको छ ।  

प्रकाशित: ९ श्रावण २०७८ १२:४६ शनिबार