समाज

आफूखुशी यातायातमा भाडा वृद्धि

नेपालगन्जस्थित बसपार्कमा पार्किङ गरिएका यातायातका साधन । तस्बिर : गणेश/ नागरिक

बाँकेका यातायात व्यवयासीले स्थानीय रुटमा आफूखुसी  भाडादर वृद्धि गरेका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारबाट बाहिरिँदै गर्दा २८ प्रतिशत भाडा वृद्धि गर्न निर्णय गरेपछि यातायात व्यवसायीले स्थानीय रुटमा पनि भाडादर वृद्धि गरेका हुन् ।

यातायात व्यवस्था विभागले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारीसाधनको मात्र भाडादर समायोजन गरेको थियो । विभागको निर्णयमा दुई वा सोभन्दा बढी प्रदेश भइ सञ्चालन हुने राष्ट्रियस्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने सार्वजनिक यातायात सवारीहरुको भाडादर असार २९ गतेदेखि लागू हुने गरी वृद्धि भएको थियो । यातायात विभागका अनुसार यात्रुबाहक सवारी २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालान हुने मालबहाक सवारी २० र तराइको बाटोमा सञ्चालन हुन मालबाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरेको थियो । तर यातायात व्यवसायीले भने अन्तरप्रदेशमा समेत भाडा वृद्धि  गरेका छन् । यसमा स्थानीय प्रशासन भने मौन छन् ।

लामो र छिटो दुरीमा भाडादर वृद्धि हुँदा यात्रुहरु मर्कामा परेका छन् । नेपालगन्ज–कोहलपुरसम्म ३५ रुपैयाँ भाडा लिँदै आएका यातायात व्यवसायीले अहिल ४५ देखि ५० रुपैयाँसम्म भाडा असुल्ने गरेका छन् । साथै उनीहरुले १० रुपैयाँ लिने रुटमा १५ रुपैयाँ भाडा लिने गरेका छन् । छिटो दुरीका यातायात व्यवसायीले भने पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा भाडादर पनि वृद्धि भएको बताएका छन् । ‘पहिलले ९० रुपैयाँ लिटर पेट्रोल हुँदा तोकिएअनुसार नै भाडा लिन्थ्यौं,’ नेपालगन्ज–कोहलपुर यातायात सञ्चालन गर्ने यातायात कर्मचारी मिनराज ओलीले भने, ‘अहिले पेट्रोलको मूल्य बढ्दा भाडा पनि बढेको छ ।’ पेट्रोलियम पदार्थ बढ्दै जाने र यातायातको भाडा नबढ्दा यातायात व्यवसायी मर्कामा पर्ने भन्दै उनले भने, ‘पेट्रोलियम पदार्थको मूल्य घटे भाडा पनि घट्छ ।’ अर्का यातायात व्यवसायी दीपेन्द्र शाहीले पनि पहिलेको तुलनामा अहिले भाडादर वृद्धि भएको बताए । यातायात समितिले मूल्य वृद्धि गरेअनुसार स्थानीय रुटमा चल्ने गाडीमा पनि भाडादर वृद्धि भएको उनको भनाइ छ ।

बाग्यश्वरी यातायात प्रालिका काउन्टर इन्चार्ज मोहनसिंह थापाका अनुसार लामो दुरीमा भाडा पनि वृद्धि भएको छ । ‘सरकारले भाडादर वृद्धि गरेको छ । सोहीअनुसार हामीले भाडा बढाएका छौं,’ उनी भन्छन्, ‘हामीले सरकारको निर्णयभन्दा बाहिर गएर भाडा लिएका छैनौं ।’ केही यातायात व्यवसायीले भने ठाउँठाउँमा प्रहरीलाई पैसा दिनुपर्दा यात्रुबाट महँगो भाडा लिनु परेको बताउँछन् । ‘भाडा धेरै लिने हाम्रो रहर होइन बाध्यता हो,’ एक यातायात व्यवसायीले भने, ‘प्रहरीलाई ठाउँठाउँमा पैसा दिनुपर्छ । तोकिएकै भाडा लिने हो भने त हाम्रो लगानीसमेत उठ्दैन । प्रहरीलाई दिनलाई यात्रुबाट थोरै बढी यातायात भाडा लिन्छौं ।’  

स्थानीय प्रशासनले अनुगमन नगर्र्दा यातायात व्यवसायी मनलाग्दी भाडा लिने गरेको यात्रुहरु बताउँछन् । ‘पहिला ३५ रुपैयाँमा कोहलपुरबाट नेपालगन्ज पुग्थ्यें,’ कोहलपुरका श्यामसुन्दर खड्काले भने, ‘अहिले ४५ रुपैयाँ नेपालगन्ज पुगेँ ।’ यात्रुहरु बाध्य भएर यातायात व्यवसायीले तोकेकै भाडा तिर्नुपर्ने बाध्यता भएको उनका भनाइ छ । यता जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टका अनुसार यातायात भाडा वृद्धिबारे केही परिपत्र नआएको बताए । ‘यातायात विभागले रुटअनुसार भाडा निर्धारण गरेको छ,’ उनले भने, ‘सोहीअनुसार यातायात व्यवसायीले भाडा लिन पाउँछन् ।’ यातायात भाडा वृद्धि अन्तरप्रदेशमा मात्र लागू हुने यातायात व्यवस्था कार्यालय बाँकेका निमित्त प्रमुख पूर्ण खत्रीले बताए । ‘निर्णय भए लगत्तै उक्त निर्णय कार्यान्वयन हुने भनिएको छ,’ उनले भने, ‘उक्त भाडा प्रदेशभित्र पनि लागू गर्ने सम्बन्धी कुनै परिपत्र आएको छैन ।’ स्थानीय यातायातका साधनमा उक्त भाडा वृद्धिको निर्णय लागू नहुने भन्दै उनले भने, ‘गुनासो आए हामी अनुगमन गर्छाैं र कारबाही गर्छाैं ।’

प्रकाशित: ६ श्रावण २०७८ १२:५८ बुधबार