भक्तपुरको कमलविनायकदेखि बागबजारसम्म दैनिक गुड्ने बा२ख २७२४ नम्बरको ‘गंगाराम ननस्टप एक्सपे्रस’ मिनीबसमा चढ्ने जोकोहीलाई हवाईजहाजमा यात्रा गर्न लागेजस्तो अनभूति हुने गर्छ। बस गुड्नुअघिको माइकिङ जानकारी र बसस्टपअघि बीचबीचमा दिइने अन्य जानकारी यति सभ्य सुनिन्छन् कि हरेक यात्रुले बसमै हवाईजहाजमा चढेको अनुभूति गर्छन्। उक्त बसमा गरिएको व्यवस्थापनलाई चालक गंगाराम खाइजूले ‘समाजवादी’ नामकरण गरेका छन्। गंगारामको बसभित्र चढ्ने जोसुकै यात्रु स्वतः शिष्ट बन्छन् र बसभित्र रहेका सबै नियम पालना गर्छन्। अन्य बसमा यात्रु बोलाउने, भाडा संकलन गर्ने कार्य सहचालकबाट हुन्छ। तर गंगाराम खाइजुको बस भने सहचालकबिनै हुइँकिन थालेको एक वर्ष भइसकेको छ। सहचालकका सबै काम गर्न उनले थुपै्र उपाय रचेका छन्।
बसमा मान्छे बोलाउन उनी स्पिकरको स्विच दबाउँछन् र बोल्छन्। कहिलेकाहीं रेकर्ड गरिएको आवाज पनि सुनाउँछन्। चढ्नेबित्तिकै चालकको आडैमा रहेको बक्समा बसभाडा राखेर मात्र आफ्नो सिटमा बस्न उनी शिष्ट भाषामा यात्रुलाई आग्रह गर्छन्। बीचमा चढेका यात्रुका लागि बस रोकेका बेला पुनः खुद्रा भाडा मागेर मात्र अघि बढ्छन्। खाइजुको बसको मुख्य आकर्षण हो, सार्वजनिक यातायातमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गराउनु। ‘देशमा कोरोना भाइरसको महामारी छ, सरकारले भनेअनुसार भौतिक दूरी पालना गरौं, सिटभन्दा बढी भए अर्को बसमा आउनुहोला,’ उनले यात्रुलाई सम्बोधन गर्दै भन्ने गर्छन्। बसलाई व्यवस्थित गर्ने खाइजुको अर्को काइदा हो, बसस्टप आउनुभन्दा केहीबेर पहिल्यै ओर्लिने ठाउँबारे जानकारी दिनु। यसका लागि उनले यात्रुलाई नबोलीकन ढोकाछेउको घन्टी बजाउन सूचनाबाटै सिकाएका छन्। ‘बस रोक्नु छ भने बस स्टेसनभन्दा करिब २ सय मिटरअगाडि नै घन्टीको स्विच दबाउनुपर्छ,’ उनले भने।
बसकै भित्तामा गाडी चढेपछि कहाँदेखि कहाँको दूरीमा कति भाडा भन्ने जानकारी दिएको सूचना पनि प्रस्ट बुझिनेगरी राखिएको छ। बसको अर्को कुनामा टाँसिएको सूचनामा उनले चालकलाई सम्मान गर्न पनि सिकाएका छन्। उनले ‘नेपालको गाउँदेखि सहर, पहाडदेखि तराई, ठाउँठाउँमा पुर्याउने यातायात र ड्राइभर साहेबलाई माया गरौं’ भन्ने सन्देश लेखेर बसमा टाँसेका छन्। सूचनामा थप उल्लेख छ, ‘यो सिस्टमलाई माया गरिदिनुभएकोमा मुरीमुरी धन्यवाद !’
बसमा सहुलियत भाडा लिने विद्यार्थीलाई अनुशासित बनाउने खाइजुको तरिका पनि भिन्नै छ। जस्तो कि सहुलियत भाडा चाहिने स्कुल तथा कलेजका विद्यार्थीलाई आमाबुवाले अनिवार्य ड्रेस लगाइदिए परिचयपत्र मागिराख्नुनपर्दैन भनी उनले लेखेका छन्। सुनचाँदी र सामान बजारमा पैसाले किन्न पाइने तर इमानदारी बजारमा किन्न नपाइने उनको भनाइ पनि बसमा सुन्न र पढ्न पाइन्छ। इमानदारी र सिस्टमलाई खिल्ली नउडाईकन इमानदारीपूर्वक भाडा पहिले नै राखेर आनन्दले बस्न आग्रह पनि सूचनामै छ। त्यसैगरी बसबाट ओर्लिनुपरे चालकलाई शिष्ट रूपमा बोलाउन अनुरोध गरिएको छ। ‘सकिन्छ भने आफू ओर्लिने ठाउँ आएपछि ड्राइभर साहेब यहाँ रोकिदिनुहोस् भन्नुहोस्, सकिँदैन भने २ सय मिटरअगाडि नै घन्टी बजाउनुहोस्,’ उनको सूचनामा उल्लेख छ।
उल्लिखित सूचनाबाहेक खाइजुको बसमा थुपै्र यस्ता सूचना छन्, जसले हरेक यात्रुलाई सभ्य भएर बस्न, भौतिक दूरी कायम गर्न मास्क लगाउन र सभ्य भएर ओर्लिन पे्ररित गर्छन्। बसमा यात्रुका लागि राखिएका सेनिटाइजर, बेलाबखत दिइने सूचनाले यो बसमा सभ्यता सिकाइरहेको भान हुन्छ। भक्तपुरदेखि काठमाडौंसम्म आइपुग्दा करिब एक घन्टा लाग्ने हुनाले उनले यात्रु तथा तिनका बालबालिकाई लक्षित गरी चाउचाउ, पानी, फ्रुटीजस्ता खाद्य सामग्री बिक्रीका लागि राखेका छन्। बसको अर्को विशेषता भनेको त्यहाँभित्रै मास्क, ट्वाइलेट पेपर, सेनिटाइजर आदि किन्न पाइनु हुन्। बागबजारदेखि भक्तपुरसम्म खाइजुको बसमा यात्रा गर्दा बीचबीचमा यात्रुलाई धेरै माइकबाटै बताउने गरेका छन्। ‘यो बसमा चढ्ने हरेक नागरिकले समान नियम पालना गर्छन्, समान नियम लागु हुनु भनेको समाजवादी बस हो,’ उनले भने। संवाददाताको थप जिज्ञासमा खाइजुले भने, ‘सरकारले नियम पालना गर्नु भनेको नागरिककै लागि हो, हामीले नियम पालना गरेको सरकारका लागि होइन, हाम्रै सुरक्षाका लागि हो,’ यसो भन्दै उनी यात्रुलाई सचेत गराउन पनि पछि पर्दैनन्।
खाइजुले बसमा नियम लेखिएका सूचनाहरू राख्न चार वर्षअघि सुरु गरेका हुन्। अहिले बसका चारै भित्तामा चाहिँदा सूचनाहरू राखिसकेका छन्। बसमा यात्रु व्यवस्थापनदेखि भाडा उठाउन सहचालक राख्थे। खल्तीमा पाँच पैसा नभएका सहचालक बसमा पैसा कमाउँदै गएपछि बीचमै छाडेर धोका दिने प्रवृत्तिले आजित भइसकेपछि उनले कहिल्यै सहचालक नराख्ने निर्णय गरेका हुन्। पैसा नभएको बेलामा आएर काम गर्छन्, पैसा कमाएपछि बीचैमा छाडेर जान्छन्,’ उनले खलासी नराख्नुको कारण खुलाउँदै भने। अहिले गंगारामको बसमा सहचालकको अभावमा यात्रु कम चढ्छन् र पैसा पनि कम उठ्छ। थोरै पैसा कमाए पनि बस शान्तिपूर्वक चलाएका छन्। शान्तिले चलेको बसमा उनको मनमा पनि शान्ति छाएको छ। ‘पैसा धेरै नभए पनि शान्ति छ, मलाई शान्ति र सुव्यवस्था मन पर्छ,’ खाइजुले मन खोलेर भने।
४३ वर्षीय खाइजुले २० वर्षदेखि भक्तपुर काठमाडौं लोकल बस चलाउँदै आएका छन्। कक्षा ५ मात्र पढेका खाइजुले लामो समय भाडाको बस चलाएपछि गत वर्ष लकडाउनअघि मात्र बैंकबाट क्रण लिएर बस किनेका हुन्। पटकपटकको लकडाउन र कोरोना महामारीका कारण उनले नियमित बस चलाउन पाएका छैनन्। बस ठप्प भएपछि महिनैपिच्छे बैंकलाई बुझाउने किस्ता तिन गाह्रो भएको उनी बताउँछन्। अहिले उनी बसको ऋणभारमा छन्, तैपनि बसमा यात्रु कोचाकोच गर्ने होडमा छैनन्। ‘म यातायात क्षेत्रमा देशैभरि सिस्टम बसोस् भन्ने चाहन्छु, जुन कुरा नयाँ पुस्ताले पनि पालना गर्दै जाओस्,’ कुराकानीको अन्तिमतिर खाइजुले भने।
प्रकाशित: ५ श्रावण २०७८ ०१:५५ मंगलबार