समाज

जातीय विभेदविरुद्ध 'विप्लव' समूहको अभियान

विप्लव नेकपाले आयोजना गरेको जातीय विभेदविरुद्धको कार्यक्रम। तस्बिरः महेश्वर/नागरिक

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले जातीय विभेदविरुद्ध अभियान थाल्ने जनाएको छ । नेकपाले आफुनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) मार्फत देशव्यापी अभियान थाल्ने जनाएको छ ।  

अखिलको केन्द्रीय कार्यक्रम अनुसार अभियान चलाउन लागिएको बताइएको छ। अभियानको क्रममा अखिल क्रान्तिकारीको उदयपुर जिल्ला कमिटीले आईतबार साँझ गाईघाटमा बिरोध प्रदर्शन र कोणसभा कार्यक्रम सम्पन्न गरेको छ। ‘रगत र नगद चल्ने पानी नचल्ने ?’ भन्ने नारासहित जातीय छुवाछुत तथा भेदभावविरुद्ध अभियान जारी राख्ने अखिलले जनाएको छ।  

छुवाछुत र जातीय विभेद कार्यमा सरकार नै संलग्न भएकाले समाजबाट हटाउन गाह्रो भएको अखिलको ठहर छ। सरकारका मन्त्री नै पीडकलाई हिरासतबाट छुटाउने काम गर्नुले स्वयं सरकार जातीय भेदभावको पक्षमा देखिएको अखिल क्रान्तिकारी उदयपुरका अध्यक्ष देहज बिष्टले बताए। केहीदिनअघि राजधानीमा भएको छुवाछुत घट्नामा तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पीडकलाई छुटाउन आफै प्रहरी कार्यालय उपस्थित भएको विषयले छुवाछुत र जातीय बिभेद कम गर्न सरकार नै बाधक रहेको उनले बताए।

विरोध प्रदर्शनमा जातीय विभेदमा संलग्न अपराधीलाई कारबाही गर, नगद र रगत चल्ने पानी नचल्ने प्रबृत्तिको अन्त्य गर, दलाल संसदीय व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद लेखिएका प्लेकार्ड र व्यानर लिएका विद्यार्थीहरुले बजार परिक्रमा गरेका थिए। परिक्रमापछि गाईघाट लोकतान्त्रिक चोकमा पुगेर कोणसभामा परिणत भएको कार्यक्रममा विद्यार्थी नेताहरुले सम्बोधन गर्दै विभेदविरुद्ध अनवरत संघर्ष गर्ने प्रतिबद्धता जनाएका थिए।  

अखिल क्रान्तिकारीले जातीय विभेदलगायत सबै खाले उत्पीडनबाट मुक्ति पाउनका लागि वैज्ञानिक समाजवाद मात्र अन्तिम बिकल्प भएको निश्कर्ष निकाल्दै देशव्यापी अभियान थालेको जनाएको छ। 

प्रकाशित: ४ श्रावण २०७८ ०६:५१ सोमबार

विप्लव समूहको अभियान बिभेदविरुद्ध