समाज

आफ्नै पसलमा महिला मृत फेला

विराटनगर महानगरपालिका–९ कि एक महिला आफ्नै पसलमा मृत अवस्था फेला परेकी छन्।  

विराटनगर–१० की ४० वर्षीया सीता राजवंशी बिहीबार दिउँसो १२ बजेतिर आफ्नै चिया पसलमा मृत फेला पारिएको मोरङ प्रहरीले जनाएको छ। राजवंशीले विराटनगर–९ बस पार्क नजिक चिया पसल सञ्चालन गर्दै आएकी थिइन्।  

‘पसलभित्र भुइँमा घोप्टो परेको अवस्थामा राजवंशी महिला मृत भेटिएकी थिइन्,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने, ‘पसलको भित्रबाटै ढोकोको चुकुल लगाएको र भुइँमा घोप्टो परेर लडिरहेको अवस्थामा शव भेटिएको र पसलभित्रको बाँसको बलोमा सल पनि झुण्डिएको अवस्थामा भेटिएको छ।’

सलको पासो लगाएर झुण्डिएपछि सलबाट खुस्किएर भुइँमा खसेको हुनसक्ने अनुमान प्रहरीले गरे पनि मृत्यु कसरी भयो भन्न सक्ने अवस्थामा अहिले नरहेको डिएसपी श्रेष्ठले बताए। मृतक महिलाको शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएर र घटनाको अनुसन्धान थालिसकेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ३१ असार २०७८ १०:३२ बिहीबार

विराटनगर महानगरपालिका