समाज

प्रहरी प्रमुख श्रेष्ठलाई भक्तपुरमा स्वागतको ओइरो

भक्तपुरमा प्रहरी उपरीक्षकको पदभार सम्हालेका शिवकुमार श्रेष्ठलाई स्वागतको ओइरो लागेको छ।

महानगरीय प्रहरी परिसरका प्रहरी उपरिक्षक श्रेष्ठलाई घरेलु तथा साना उद्योग संघ, विभिन्न पेशा व्यवसायीहरुले स्वागत गरेका छन्। स्वागतको क्रममा प्रहरी उपरीक्षक श्रेष्ठले भक्तपुरमा आउनु पूर्व जिल्लामा कार्य गरेका अग्रजहरुसँग भक्तपुरको वस्तुस्थितिबारे जानकारी लिएको बताउँदै आफूले भक्तपुरमा क्रियाशील विभिन्न संघ सस्थाहरुसँग अन्तरक्रिया गर्ने मनशाय राखेको बताए।

सो अवसरमा उनले देश विकासको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग नै रहेको जानकारी आफूसँग भएको बताउँदै उनले आफू कार्यरत क्षेत्रमा सकेसम्म स्वदेशमै उत्पादन भएको वस्तुहरु प्रयोग गर्न पहल गर्ने प्रतिवद्धता जनाए।

सो अवसरमा उनले प्रहरीप्रति रहेको नकारात्मक धारणा चिर्नका लागि पहल गर्ने पनि बताए। ‘हामीले सानैमा बच्चाहरुले गल्ती गर्दा पुलिसलाई बोलाउँछु भनी तर्साउने गरेको कारण प्रहरीसँग साधारण जनता नजिकिन नसकेको यथार्थ छ, सो भ्रमलाई चिर्न म सक्दो प्रयत्न गर्नेछु।’

सोही अवसरमा संघका अध्यक्ष प्रेम खर्बुजाले विश्वभर फैलिएको कोरोना भाइरसका कारण अरु व्यवसाय केही समय संचालन गर्न सरकारले अनुमति दिएपनि सौन्दर्यकला व्यवसायलाई अनुमति नदिएको कारण प्रहरी उपरिक्षकमार्फत नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्ने गरी संचालन गर्न पहल गरीदिन अनुरोध गरेका थिए।

संघका निवर्तमान अध्यक्ष विरेन्द्र जतिले हरेक विषम परिस्थितिमा साथ दिने लघु घरेलु तथा साना उद्योग नै रहेका कारण राज्यले लघु घरेलु तथा साना उद्योगलाई हेर्ने  दृष्ट्रिमा परिवर्तन गर्नुपर्ने बताए। संघका पूर्व अध्यक्ष तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठले भक्तपुर घरेलु तथा साना उद्योग संघका स्थापनाको औचित्य र यस संघले सदस्यहरुलाई पुर्याउँदै आएको योगदानबारे जानकरी गराए।

प्रकाशित: २८ असार २०७८ १०:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App