समाज

सञ्चारकर्मी सहकारीद्वारा ६ जना पत्रकार पुरस्कृत

सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको दशौं स्थापना दिवसको अवसरमा मोरङ्गका ६ जना पत्रकारलाई पुरस्कृत गरिएको छ। मोरङ्ग कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका अनन्तराज न्यौपाने, मोहम्मद सदरुल, मीनकुमार श्रेष्ठ, तारा आर्चाय, एलिना दियाली र राजकुमारी तामाङलाई  पुरस्कृत गरिएको हो ।  

पत्रकारिता  क्षेत्रबाट समाज रुपान्तरणमा पुर्‍याएको योगदानको कदर गर्दै सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले कारोबार दैनिकका मीनकुमार श्रेष्ठ र बिजमाण्डुका अनन्तराज न्यौपानेलाई ५०–५० हजार राशीको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरेको छ। राष्ट्रिय समाचार समितिका प्रदेश १ प्रमुख मोहम्मद सदरुल र न्युज २४ टेलिभिजनकी तारा आर्चायलाई २१–२१ हजार रुपैयाँ राशीको मेम्बर चन्द्रलाल दुर्गादेवी दाहाल सञ्चार श्रमजीवि पुरस्कारबाट पुरस्कृत गरिएको छ। 

यस्तै  रेडियो सिम्रिककी एलिना दियाली र निगरानी टाईम्सकी राजकुमारी तामाङलाई १०–१० हजार राशीको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत गरिएको छ।  

पुरस्कार प्रदेश १ का प्रदेश प्रमुख सोमराज अधिकारी प्यासीले हस्तान्तरण गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख प्यासीले समाजलाई सिर्जनशील बनाउन पत्रकारहरुको उल्लेख्य भूमिका रहेको बताए। सञ्चारकर्मी सञ्चार सहकारी संस्था वि.सं. २०६९ सालमा मोरङका पत्रकारहरुले स्थापना गरेका हुन्। संस्थामा मोरङका १ सय ५ जना सञ्चारकर्मी सदस्य छन्।

प्रकाशित: २७ असार २०७८ १२:४६ आइतबार

पत्रकार पुरस्कृत सञ्चारकर्मी सञ्चार सहकारी संस्था