समाज

७ घर पहिरोको उच्च जोखिममा, ३० परिवारको खेत बगायो

फाइल तस्बिर

बैतडीको दोगडाकेदार गाउँपालिका–१ रिममा पहिरो जाँदा एक परिवार विस्थापित भएका छन् भने ६ घर जोखिममा रहेका छन्। निरन्तरको वर्षासँगै आइतबार बिहान घरमाथिबाट पहिरो खस्दा स्थानीय मदन जोशीको परिवार बिस्थापित भएको स्थानीय शान्तिप्रसाद जोशीले जानकारी दिए।

बिहान ३ बजेतिर घर माथिको भिरालो जमिनबाट एक्कासी पहिरो खस्दा घर पूर्णरुपमा क्षति भएको र घरभित्रका खाद्यान्न लगायतका आधा समाग्रीहरु पहिरोमै पुरिएको उनले बताए। अहिले स्थानीयको सहयोगमा गाईवस्तु लगायत पहिरोबाट जोगिएका सामग्रीहरु अन्यन्त्र सारिएको छ।

 लगातारको वर्षाका कारण घरमाथिबाट पहिरो खस्न थालेकाले अन्य ६ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। स्थानीय यज्ञराज जोशी, नन्दराज जोशी, तुलाराम जोशी, केशब जोशी, महादेव जोशी र जगन्नाथ जोशीको घर पहिरोको उच्च जोखिममा रहेका हुन्। पहिरो विस्थापित मदन जोशीसहित अन्य स्थानीयबासीको खेतबारीमा पहिरोले क्षति पुर्‍याएको छ। पहिरोका कारण मकै, धान लगायत अन्य सबै बाली तथा तरकारी नष्ट भएको स्थानीयले बताए।

लगातारको वर्षाले पहिरो खस्न थालेपछि घरपरिवार जोखिममा परेका उनले बताए। पहिरोको जोखिम भएको ठाउँमा प्रहरी टोली गइरहेको र विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए। यस्तै दोगडाकेदार गाउँपालिका–२ धमालीमा करिब ३० परिवारको धान रोपेको खेत बगाएको छ । ढिकगाड नदी र भकुण्डे खोलामा आएको बाढीले खेत बगाएको स्थानीय जनकबहादुर कार्कीले बताए।  

बैतडीका ८ वटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनामा ८ वटा स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेको देखाएको छ । रातीको आएको बाढीले पुरै खेत बगरमा परिणत भएको स्थानीयले बताएका छन्। बाढीले चारओटा पानीघट्ट पनि बगाएको स्थानीयले जानकारी दिए। बाढीले खेत बगरमा परिणत गरेपछि स्थानीय किसानहरु चिन्तित बनेका छन्। बर्षा भइरहेकाले नदीमा बाढी आउने क्रम जारी रहेको छ। 

प्रकाशित: २७ असार २०७८ ०७:५५ आइतबार

७ घर पहिरोको जोखिममा ३० परिवारको खेत बगायो