समाज

ब्राउनसुगरसहित तीन जना पक्राउ

लागुऔषध ब्राउनसुगरसहित प्रहरीले मोरङको बेलबारीबाट तीन जनालाई बिहीबार पक्राउ गरेको छ। बिहीबार साँझ २ जना युवती र १ जना पुरुषलाई ब्राउनसुगरसहित पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 

बेलबारी नगरपालिका–१ का ४६ वर्षीय बुद्धिमान तामाङ, धनकुटाको हिले घर भएका १८ वर्षीया जिया राई र सपना तामाङलाई बुद्धिमानको घरबाट पक्राउ परेको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले बताए।  

बुद्धिमानको घरबाट १३ ग्राम ५ सय ४० मिलिग्राम ब्राउनसुगर धानको भकारीभित्र लुकाएर राखेको अवस्थामा बरामद भएको एसपी राईले बताए। बुद्धिमानको साथबाट विभिन्न सिमकार्ड प्रयोग गरिएका ८ वटा मोबाइल, नगद र ब्राउनसुगर बिक्री गर्दा प्रयोग गर्ने डिजिटल मेसिनसमेत फेला परेको प्रहरीले जनाएको छ।  

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बुद्धिमान ६ वर्षदेखि लागुऔषध कारोबारी भएको र भारतका विभिन्न स्थानबाट ल्याएर राख्दै घरैबाट दुर्व्यसनमा फसेका सेवनकर्तालाई ब्राउनसुगर बिक्री गर्ने गरेको खुलेको छ। पक्राउ परेका युवतीहरु ब्राउनसुगर सेवनकर्ता भएको र सेवन गर्नकै लागि बेला–बेलामा बेलबारी आउने गरेको प्रहरीले जनाएको छ।  

पक्राउ परेकाविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन अनुसन्धान अघि बढाउन शुक्रबार म्याद थप गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ असार २०७८ ०८:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App