समाज

विवेक हत्या प्रकरण: प्रतिशोध नै मुख्य कारण

हत्या आरोपी र मृतकको घर। तस्बिर: योगेश/नागरिक

कैलालीको टीकापुर नगरपालिका–१ मुनुवारोडसँगै जोडिएका छन् दुई घर। पूर्वतर्फको घर हत्या आरोपी १५ वर्षकी सकुन्तला (नाम परिवर्तन) को हो भने पश्चिमतर्फको घर मृतक साढे तीन वर्षका विवेक बिष्टको हो।  

उनीहरुको घर जाने बाटो एउटै छ। उनीहरु दुवैजना छिमेकी मात्रै हैनन्। दुवैजनाबीच पारिवारिक सम्बन्ध पनि छ। हत्या आरोपी सकुन्तला र मृतक विवेकका बाजे दुई भाई हुन्। उनीहरुको परिवारबीच खाशै ठूलो झैझगडा पनि छैन।  

मृतक विवेकका बुबा दिलिप बिष्टलाई दुई परिवारकाबीच ठूलै झैझगडा भएको सम्झना छैन। उनीहरुबीच बोलचाल र एकापसमा सहयोग आदान प्रदान हुने गथ्र्यो। ‘त्यस्तो ठूलै झैझगडा थिएन’ उनले भने, ‘नजिकै बस्दा सामान्य भनाभन हुने कुरा त हुन्छ नै। त्यस्तो कहिले काँही हुन्थ्यो।’

दिलिपले आफ्नै घरमा सानो पसल चलाएका छन। सकुन्तला र उनकी दिदी कहिले काँही पसलमा आउथे। उनकी दिदीले एकदिन दिलिपको पसलबाट पैसा चोरिन्। त्यो दिन दिलिपले सकुन्तलाको दिदीलाई पिटेका थिए। ‘धेरै ठूलो कुटपिट हैन कि किन बदमासी गरेको भनेर १/२ झापड हानेको थिए’ उनले भने, ‘सम्झाउने ढंगले पिटेको हुँ।’

करिब १५ दिन अघि पनि दिलिपले सकुन्तलाको दिदीलाई पिटेका थिए। उनले मृतक विवेकलाई किन रुवाएको भन्दै काकाले आफ्नो दिदीलाई पिटेको प्रहरीलाई भनेकी छन्। उनले अनाहकमा दिदीले पिटाई खाएको कुराले आफू दुःखी भएको बताएकी प्रहरीले जानकारी दिएको छ।  

सकुन्तलाको परिवारले सात वर्षअघि एउटा घटना भोग्नु परेको थियो। स्रोतका अनुसार उनकी दिदी माथि आफन्तबाटै यौन हिँसा भएको थियो। उनी माथि यौन हिँसा गर्ने व्यक्ति अहिले जेलमा छन्।  

त्यो ठाउँमा धेरै बिष्ट परिवार बसोबास गर्छन। यौन हिँसाको घटनाले बिष्ट परिवारहरु एकापसमा विभाजित भए। कोही सकुन्तलाको परिवारलाई अन्याय भएको भनेर भन्न थाले भने कोही काल्पनिक घटना रचेर निर्दोष व्यक्तिलाई यौन हिँसाको आरोपमा जेल पठाएको भन्न थाले। सकुन्तलाको परिवारको पक्षमा थोरै देखिए।  

एकदिन बिष्ट परिवारका अग्रजहरु एक ठाउँमा बसे। उनीहरुले जेजस्तो भएपनि अब आपसमा मिलेर बस्नुपर्ने कुरा अघि सारे। सबैले अग्रजहरुको कुरालाई समर्थन जनाए। त्यसै क्रममा मृतक विवेकका बुबा दिलिप पनि सबै मिलेर बस्नुपर्ने कुराका पक्षमा उभिए।  

सकुन्तलाको परिवारलाई उनी आफ्नो पक्षमा उभिन्छन भन्ने लागेको थियो। तर उनले अग्रजहरुकै कुरामा सहमति जनाए। ‘सबै दाजुभाईहरुले मिलेर बस्नुपर्छ भनेपछि मैले पनि त्यसमा सहमति जनाएको हुँ’ उनले भने, ‘म समाज भन्दा बाहिर जान सकेन।’

सकुन्तलाको परिवारले दिलिपलाई आफ्ना विरुद्ध किन गएको भनेर कहिल्यै भनेनन्। उनीहरुको परिवारबीचको सम्बन्ध यथावत नै रहिरह्यो। एकअर्काको घरमा आउने जाने भैरह्यो। भान्सामा मिठो मसिनो पाक्दा बाँडेर खाने क्रम पनि रोकिएन। ‘उनीहरु आफ्नो काम गर्थे। हामी हाम्रो काम गथ्र्यौं’ उनले भने–‘हाम्राबीच सम्बन्ध राम्रै थियो।’

सकुन्तलाको परिवारमा दिदी र आमाबुबा छन्। उनी स्थानीय खड्ग स्मृति स्कुलमा पढ्थिन। मृतक विवेक घर नजिकैको गणेश बाबा बोर्डिङ स्कुलको प्ले ग्रुपमा पढ्थे। सकुन्तला कहिले काँही मृतक विवेकलाई स्कुल छोड्न जान्थिन्। ‘सधै त हैन कहिले काँही छोड्न गएको थाहा छ’ मृतक विवेकका बुबाले भने, ‘प्रायः हामी आफैले पुर्याउने गरेका थियौं।’

सकुन्तला मृतक विवेकलाई माया गर्थिन। अन्य बालबालिकाका हकमा भने सकुन्तलाको स्वभाव फरक थियो। उनी कहिले काँही बालबालिकालाई पिट्थिन। केही महिना अघि उनले एक बालकलाई दाउराले हानेर घाईते बनाएको दिलिपले बताए। उनी मृतक विवेकलाई भाईटीकामा टीका समेत लगाउथिन। मृतक विवेकको स्वभाव सबैसँग घुलमिल हुने थियो। उनी सकुन्तलासँग पनि उत्तिकै घुलमिल हुन्थे। सकुन्तला मृतक विवेकलाई कहिले काँही वरपर घुमाउन पनि लैजान्थिन। ‘गोलु (विवेकको मायाले बोलाउने नाम) सबैको प्यारो थियो’ बुबा दिलिपले भने, ‘सकुन्तलासँग पनि उत्तिकै खुशी हुन्थ्यो।’

असार २१ गतेको दिन दिलिप र उनका दाजु हेमन्त पसलको काममा व्यस्त थिए। घरका अन्य सदस्यहरु समेत आ–आफ्नै काममा थिए। मृतक विवेक घरमै खेलिरहेको थियो। उनकी बहिनी (काकाकी छोरी) त्यो दिन सुखड गएकी थिईन। मृतक विवेक एक्लै थियो।  

बिहान ११ बजेतिर सकुन्तला र मृतक विवेक घर पछाडीको बाटो हुँदै निस्के। उनीहरुले घरबाट झण्डै डेढ सय मिटरको दूरीमा रहेको जामनको रुखबाट जामन टिपेर खाए। त्यसपछि उनीहरु दुवैजना जमरा कुलो तर्फ अघि बढे। बाटो सकिएपछि एउटा मोड आउछ। मोड नजिकै बच्चाहरुको खेल्ने ठाउँ छ। त्यहाँ सकुन्तलाले मृतक विवेकलाई पिङ खेलाईन। स्थानीय एक महिलाले त्यो दृश्य देखेकी थिईन्।  

त्यसपछि सकुन्तला र मृतक विवेक जमरा कुलोको छेउमा पुगे। प्रहरीसँगको बयानका क्रममा सकुन्तलाले भनिन्, ‘खुट्टाको चाँदीको बाला झिकेर बाबुलाई पानीमा धेकेले।’ उनले खुट्टामा रहेको चाँदीको बाला झिक्नुको उद्देश्य घटनालाई अन्यत्र मोड्न रहेको प्रहरीलाई बताएकी छन्। ‘सबैलाई बालाका लागि हत्या भएको भन्ने लाग्ला भनेर नै मैले त्यसो गरेकी हुँ’ उनले प्रहरीसँग भनेकी छन्,‘मेरो उद्देश्य बाला मात्रै हैन।’

सकुन्तलाले आफूलाई धेरै माया गर्ने भाई (काकाको छोरा) अबोध नाबालकलाई पानीमा धेकेलेर किन हत्या गरिन् भन्ने कुराले धेरैलाई सोच्न वाध्य बनाएको छ। मृतक विवेकका ठूलोबुबा हेमन्त घटनाका पछाडी कुनै न कुनै रहस्य लुकेको बताउँछन्। उनी सकुन्तलालाई हत्या गर्न उक्साउने अरु कोही हुनसक्ने दावी गर्छन। ‘यो चाँदीको बालाका लागि मात्रै गरिएको घटना हैन’ उनले भने–‘घटनाका पछि कुनै रहस्य लुकेको छ।’

प्रहरी यही रहस्यको खोजीमा छ। उसले सकुन्तला र उनकी एक १४ वर्षकी साथीलाई पक्राउ गरेको छ। ती साथीलाई सकुन्तलाले मृतक विवेकको खुट्टाबाट झिकेको चाँदीको बाला राख्न दिएकी थिईन। प्रहरीले उनकी साथीबाट चाँदीको बाला बरामद गरेको छ।  

कैलाली प्रहरी प्रमुख एसपी विश्व अधिकारी घटनाको सुक्ष्म ढंगले अनुसन्धान भैरहेको बताउँछन। उनले घटनामा संलग्न जोसुकै भएपनि कानूनी दायरामा आउने बताए। ‘हामीले प्रारम्भिक अनुसन्धान मात्रै सावर्जनिक गरेका हौं’ उनले भने, ‘घटनाको गहिराई सम्म पुग्ने काम भैरहेको छ।’

प्रकाशित: २५ असार २०७८ ०७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App