समाज

अग्निपीडितलाई २१ लाख सहयोग

पूर्वमन्त्री योगेशकुमार भट्टराईको पहल तथा ताप्लेजुङका काठमाडौंवासीको सक्रियतामा संकलित २१ लाख रुपैयाँ दोभान बजारका अग्निपीडितले पाउने गरी हस्तान्तरण गरिएको छ। मेरिङदेन गाउँपालिकास्थित दोभान बजारका अग्निपीडितका लागि संकलित सो रकम पालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन खातामा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो।  

ताप्लेजुङ सरोकार केन्द्र र ताप्लेजुङ समाज नेपालका प्रतिनिधिको रोहवरमा पूर्वमन्त्री भट्टराईले २१ लाख रुपैयाँ मेरिङदेन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बुलाई हस्तान्तरण गरेका छन् । ताप्लेजुङ सरोकार केन्द्र र ताप्लेजुङ समाज नेपालको सक्रियतामा दोभान बजारका अग्निपीडितका लागि रकम संकलन गरिएको थियो। सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले कामको सिलसिलामा संघीय राजधानी पुगेकाहरूले गृहजिल्लाका पीडित नागरिकका लागि सहयोग संकलन गरी वितरण गरेको बताए। 

ताप्लेजुङ समाज नेपालका महासचिव अग्नि पौडेलले गृहजिल्लाका नागरिकको पीडामा थोरै भए पनि मह्लमपट्टी गर्न पाउँदा गौरवको अनुभूति भएको बताए। सरोकार केन्द्र र ताप्लेजुङ समाज नेपाल ताप्लेजुङ घर भई पेसा व्यवसायको सिलसिलामा संघीय राजधानी पुगेकाहरूको साझा संस्था हो। पीडितलाई राहत तथा क्षतिपूर्ति वितरणका लागि एकद्वार प्रणाली अपनाएको मेरिङदेन गाउँपालिकाले दोभान बजारका अग्निपीडितका लागि छुट्टै प्रकोप व्यवस्थान खाता सञ्चालनमा आएको छ। प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेको खातामा जम्मा भएको रकम पहिलो चरणमा दोभान बजारका अग्निपीडितलाई वितरण गरिएको र अरु क्रमशः वितरण गर्दै लैजाने बताए। क्षतिपूर्ति वितरणका लागि पालिकाले यसअघि नै पीडितको वर्गीकरण गरिसकेको छ।  

दोभान बजारका अग्निपीडितका लागि राहत संकलन गर्न पूर्वमन्त्री भट्टराईको संयोजकत्वमा राहत सहयोग संकलन समिति बनाइएको थियो। ताप्लेजुङ केन्द्र र सरोकार समाजले समन्वयकर्ता समेत तोकेको थियो। दोभान एकता समाज काठमाडौं, ओलाङचुङगोला कल्याण परिवार, ताप्लेजुङ गुरुङ समाज काठमाडौं तथा मिस मंगोल सिभिरा लामा, अमेरिकामा रहेका अमर सेनेहाङसहित दावा शेर्पा र राजु साँवालगायतको बलियो भूमिका रहेको बताइएको छ।

प्रकाशित: २४ असार २०७८ ०२:४७ बिहीबार

अग्निपीडित