समाज

ललिता निवास जग्गा काण्ड: बस्न्यातले वारेस राखेर मुद्दा लड्न पाउने

 विशेष अदालत काठमाडौंले ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाएको अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई वारेस राखेर मुद्दा लड्न पाउने अनुमति दिएको छ। न्यायाधीशहरू अब्दुल अजिज मुसलमान, शान्तिसिंह थापा, चन्द्रबहादुर सारुको इजलासले बस्न्यातले कसैलाई वारेस राखेर मुद्दा लड्ने अनुमति दिने मंगलबार आदेश गरेको हो।

अदालतमा विचाराधीन भ्रष्टाचार मुद्दामा बस्न्यातले आफ्नो एकजना प्रतिनिधि राखेर मुद्दा लड्न पाउनेछन्। विशेष अदालतले ललिता निवास जग्गा काण्डमा पुर्पक्षका लागि थुनामा पठाएको थियो। आफू बिरामी भएको र थुनामा राख्नु गलत भएको भन्दै त्यस विरुद्ध उनले सर्वोच्च अदालतमा निवेदन दर्ता दिएका थिए। निवेदन अनुसार गत वैशाख २५ मा सर्वोच्चले बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको थियो। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले विशेष अदालतको आदेश बेरीतको देखिएको भन्दै धरौटीमा छोड्न आदेश गरेको थियो।

बस्न्यातलाई मंसिर २८ मा विशेष अदालत काठमाडौंले डिल्लीबजार थुनामा पठाउने आदेश दिएको थियो। थुनामै रहँदा अस्वस्थ रहेका र पछिल्लो समय कोरोना संक्रमण भएको भन्दै उनको पक्षबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता भएको थियो। विशेषले पुर्पक्षका लागि थुनामा पठाएकामध्ये धरौटीमा छुट्ने आदेश पाउने बस्न्यात दोस्रो व्यक्ति हुन्। बस्न्यातविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँ बिगो माग गरी २०७६ माघ २२ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा बनाएको आरोपमा तत्कालीन तीन मन्त्री, तीन सचिव, जग्गाधनी, जग्गा बकस लिने १८ जना र कर्मचारीसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

प्रकाशित: २३ असार २०७८ ०२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App