समाज

धादिङमा निषेधाज्ञा खुकुलो बनाइँदै असार ३१ सम्म थप

धादिङ जिल्लामा निषेधाज्ञा थप खुकुलो बनाइदै असार ३१ गतेसम्मका लागि थप गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि मंगलबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले असार ३१ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो । जिल्लामा अघिल्लो साता थपेको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । गत वैशाख २१ बाट सुरु भएको निषेधाज्ञा पटक पटक गरि असार मसान्तसम्मका लागि थप गरिएको हो ।  

निषेधाज्ञा समयमा होटल तथा रेष्टुरेन्ट, स्वीमिङ पुल, हाटबजार, फुटसल, जिमखाना, फिटनेस सेन्टर, सैलुन र ब्युटिपार्लर बाहेकका अन्य सबै पसल व्यवसायहरु तोकिएको स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पुरा गरी बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।  

जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गरी स्विकृत सिट क्षमताभन्दा बढि यात्रु नबोक्ने गरी बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म संचालन गर्न पाउनेछन् । बैठकले नागरिकले अत्यावश्यक बाहेक घर बाहिर निस्किन र हिँडडुल गर्न, भौतिक उपस्थितिमा शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र सञ्चालन गर्न, अत्यावश्यक बाहेकका सार्वजनिक एवम निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

त्स्तै बिबाह, ब्रतबन्ध, मृत्यु संस्कार लगाएतका अत्यावश्यक परम्परागत धार्मिक तथा साँस्कृतिक कार्यहरु अधिकतम १५ जना सहभागी भई आफ्नो घर वा बसेको स्थानमा मात्र गर्ने, बैंक तथा वित्तिय संस्थाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी कारोबार गर्न पाउने छ । सार्वजनिक सेवा र विकास निर्माणसँग सम्बन्धित सम्पूर्ण सरकारी कार्यालयहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सेवाग्राहीको चाप अनुसार आलोपालो प्रणाली कायम गरी सेवा सुचारु गर्ने निर्णय गरेको छ ।

प्रकाशित: २२ असार २०७८ १३:५२ मंगलबार

धादिङ जिल्ला निषेधाज्ञा