समाज

पोखरामा सरकारविरुद्ध विद्यार्थीको प्रदर्शन

पोखरामा केपी ओली सरकारबिरुद्ध प्रदर्शन भएको छ। बिपक्षी गठबन्धनमा रहेका पाँच पार्टीका विद्यार्थी संगठनहरूले पोखराको बगरस्थित पृथ्वीनारायण क्याम्पस गेट अगाडि मशाल जुलुश प्रदर्शन गरेका हुन्।

बिपक्षी गठनबन्धनमा आबद्ध पाँच दल निकट नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, एमाले माधव नेपाल निकट अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले शनिबार साँझ संयुक्त रूपमा प्रदर्शन गरे। पृथ्वी नारायाण क्याम्पस बगरमा मशाल प्रदर्शन गरेका विद्यार्थीहरूलाई प्रहरीले रोक्न खोज्दा सामान्य झडपसमेत भएको थियो।

मशाल जुलुशका क्रममा विद्यार्थीहरूले प्रतिगामी सरकार होसियार, केपी ओली राजीनामा दे, भ्रष्ट सरकार मुर्दावाद, शैक्षिक दलालहरू होसियार, कालीगण्डकी डाइभर्सन आयोजना खारेज गर, पेट्रोलियम पर्दाथको मुल्य बृद्धि खारेज गर्, लकडाउन अवधिको शैक्षिक शुल्क मिनाहा गर लगायतका नाराहरू लगाएका थिए।

केन्द्रमा भएको निर्णय अनुसारै आन्दोलन थालिएको अखिल क्रान्तिकारी कास्कीका नेता वसन्त भट्टचनले बताए। उनले केन्द्रको सर्कुलर अनुसार आईतबार विद्यार्थी आन्दोलनका पूर्व जिल्ला अध्यक्षहरूसँग अन्र्तक्रिया गर्ने, सोमबार संविधान जोगाउनका लागि संविधानको प्रति प्रदर्शन गर्नेलगायतका कार्यक्रम गर्ने बताए।

प्रकाशित: २० असार २०७८ ०६:१२ आइतबार

पोखरामा सरकारविरुद्ध विद्यार्थीको प्रदर्शन