समाज

मानव बेचविखनमा फरार अभियुक्त पक्राउ

मानव बेचविखन तथा ओसार–पसार मुद्दामा फरार रहेका वीरेन्द्रनगर नगरपालिका–२ का ४० वर्षीय भिमप्रसाद न्यौपाने ।

मानव बेचविखन तथा ओसार–पसार मुद्दामा जिल्ला सर्वोच्च अदालतले दुई वर्षअघि कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। सर्वोच्च अदालतले २०७६ पुस २ गते वीरेन्द्रनगर नगरपालिका–२ का ४० वर्षीय भिमप्रसाद न्यौपानेलाई मानव बेचविखन तथा ओसार–पसार मुद्दामा नौ वर्ष दुई महिना १३ दिनको कैद तथा २५ हजार जरिवाना तोकेको थियो।  

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदम विष्टका अनुसार न्यौपानेलाई घरबाटै पक्राउ गरिएको हो। ‘अदालतबाट फैसला भएका फरार प्रतिवादीहरु खोज्नेक्रममा विशेष सुराकीको आधारमा न्यौपानेलाई घरबाटै पक्राउ गरिएको हो,’ एसपी विष्टले भने, ‘पक्राउ परेका न्यौपानेलाई जिल्ला अदालत सुर्खेतमा उपस्थित गराएका छौं।’ उनलाई बुधबार पक्राउ गरिएको थियो।  

यस्तै तेक अनादर मुद्दामा जिल्ला अदालतबाट ४२ हजार पाँच सय रुपैयाँ जरिवाना तोकिएका वीरेन्द्रनगर–३ कालागाउँका ४६ वर्षीय धर्मराज गिरीलाई पनि प्रहरीले पक्राउ गरेको छ। २०७७ असार १० गते जिल्ला अदालतले चेक अनादर मुद्दामा जरिवानाको फैसला गरेको थियो।  

यस्तै ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ। दैलेखको दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ३४ वर्षीय प्रदीप खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। खड्कालाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालत सुर्खेतले २०६८ भदौ २८ गते पाँच वर्षको कैद सजाय सुनाएको थियो। उनलाई शुक्रबार दिउँसो वीरेन्द्रनगर बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ असार २०७८ १५:२० शुक्रबार

मानव बेचविखन