समाज

प्रशासनले भन्यो ‘लगातार पानी परिरहेको छ, सावधान हुनू’

निरन्तर वर्षा भइरहेकोले जोखिम निम्तन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जोखिमपूर्ण स्थानमा रहेका बासिन्दालाइ चनाखो हुन,सावधानी र होसियारी अपनाउन अपिल गरेको छ। 

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सार्वजनिक सूचना जारी गर्दै निरन्तर वर्षा भइरहेकोले कुनै पनि बेला बिपद्का घटना हुनसक्नेतर्फ संकेत गर्दै सम्भावित जोखिम क्षेत्रका बासिन्दालाइ सुरक्षित रहन अपिल गरेका गरेका छन्। जारी सूचनामा बिगत केहि समययता मनसुनजन्य घटनाबाट ठूलो जनधनको क्षति भइरहेको र भू–बनोटका हिसावले ताप्लेजुङमा समेत जोखिमपूर्ण क्षेत्र रहेको भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ।  

विपद्का घटना कहाँ र कतिबेला हुन सक्छन् भन्ने बिषय थाह नहुने भन्दै जिल्ला प्रशासन कार्यालयले यहाँका कतिपय भू–भाग विगत देखि नै बाढी र पहिरो जस्ता प्राकृतिक बिपद्को जोखिममा रहेकोतर्फ ध्यानाकर्षण गराइएको छ। मनसुनको यो बेला मौसमबिद्हरु समेतले बाढी र पहिरो जस्ता प्राकृतिक बिपद् आउन सक्नेतर्फ सचेत गराइ सकेको स्मरण गर्दै प्रशासन कार्यालयले सम्भावित जोखिम क्षेत्रका बासिन्दाले सर्तक र सावधानी अपनाउन सबैलाइ आग्रह गरिएको छ।  

ताप्लेजुङमा सबैभन्दा बढी पहिरोको जोखिम रहेको छ। जिल्ला बिपद् व्यवस्थापन समिति आफैंले ताप्लेजुङका ६१ वटा वडामध्ये ५९ वटा वडालाइ पहिरो प्रभावित क्षेत्रको सूचीमा राखेको छ। जिल्ला बिपद् व्यवस्थापन समितिको बैठकले सम्भावित बिपद्का घटनाबाट बच्न पालिका तहले पूर्व तयारी र प्रतिकार्य योजना बनाइ अघि बढ्नुपर्ने निश्कर्ष निकालेको सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले जानकारी दिइन्।  

तमोर नदी सहितका खोला र नदी आसपास समेत बस्ती रहेको र नदी तथा खोलामा पानीको बहाव बढेपछि तटिय क्षेत्रका बस्ती समेत जोखिममा रहेका छन्। भिरालो जमिन भएको क्षेत्र वरपर रहेका बस्तीमा पहिरोको जोखिम बढी हुने बताइन्छ। 

प्रकाशित: १८ असार २०७८ ०५:३१ शुक्रबार

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ पानी परिरहेको छ सावधान हुनू’