समाज

पोखरामा सहलगानीमा खानेपानी आयोजना

कतै निर्माण हुँदै कतै पूरा

दुई वडाको खानेपानी आयोजना अझै पूरा भएको छैन । पोखरा महानगरपालिकाले एकघर एक धाराको अवधारणा ल्याएपनि दुई वटामा सञ्चालित आयोजना पूरा नहुँदा महानगरको योजना कार्यान्वयनमा आउन अझै समय लाग्ने देखिएको छ । पोखरा–२१ कृस्ति–निर्मलपोखरी र पोखरा–३३ भरतपोखरीको लागि खानेपानी आयोजना तीनवर्ष अघिदेखि शुरु भएको हो । यद्यपी अझै पूरा भईसकेको छैन । लेखनाथ क्षेत्रका चारवटा वडामा भने दुईवटा सहलगानीका खानेपानी आयोजना भने पूरा भएका छन् ।

महानगरपालिकाले खानेपानी आयोजनाको कार्यान्वयन गर्न ११ करोड ६३ लाख रुपैयाँ बजेट प्रस्ताव गरेको छ । भरतपोखरी-निर्मलपोखरी साना सहरी आयोजना, लेखनाथ साना सहरी खानेपानी उपभोक्ता समिति, सराङकोट खानेपानी आयोजना, गोतेनबारी गहुँकाट्ने खानेपानी आयोजना, सहलगानी खानेपानी आयोजना लगायतका ठूला आयोजना सञ्चालित छन् । विभिन्न वडामा संचालनमा रहेका साना आयोजनाहरुको निर्माणमा महानगरपालिकाले प्रतिबद्धता अनुसारको दायित्व निर्वाह गर्दै स्रोत परिचालन गरिने महानगरपालिका उपमेयर मन्जुदेवी गुरुङले बताईन् ।  

पोखराको खानेपानी सुधारको लागि जापानी सहयोग निकाय जाईका नेपालको सहयोग तथा खानेपानी विभागको समन्वयमा पोखरामा पाईपलाईन विस्तार गरिएको छ । पुरानो पाईपसँगै नयाँ पाईप जडान गरिएको छ । विभिन्न ठाउँमा रिजर्भ ट्याकी निर्माण गरिएको छ । पोखरा–१९ लामाचौर, पोखरा–५ पस्र्याङ, पोखरा–१५ कोलपाटन, पोखरा–१२ फूलबारी लगायतका ठाउँहरुमा २ लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण गरिएको छ । पोखरा क्षेत्रलाई विभिन्न भौगोलिक क्षेत्रमा विभाजन गरी पाइपलाइन तथा प्रशोधन केन्द्र समेत निर्माण गरिएको छ । ‘पाईपलाईन तथा प्रशोधन केन्द्र २८ महिनाभित्र पूरा गरिने छ,’ उपमेयर गुरुङको भनाई थियो । खानेपानी आयोजना कार्यान्वयनमा आउने र बजार क्षेत्रको पाईप लाईन सुधारसँगै विस्तारले खानेपानीको आपूर्ति सहज हुने विश्वास गरिएको छ ।

‘हाम्रो योजना अझै पूरा भएको छैन’, पोखरा–२१ का वडाध्यक्ष खगराज आचर्यले भने, ‘खानेपानी समितिले काम गर्ने तर्फ गम्भीरता नदेखाउँदा ढिलाई भएको हो ।’ साविकका तीन गाविस कृस्ति, निर्मलपोखरी र भरतपोखरीमा सहलगानीमा खानेपानी आयोजना अगाडि बढाएका हुन् । आयोजना २९ करोड रुपैयाँको हो । सहलगानी अन्तर्गत स्थानीय २ हजार घरधुरीले १५ हजारको दरले आर्थिक सहयोग जुटाएका छन् । महानगरपालिकाले २० प्रतिशत रकम सहयोग गर्नुपर्ने हुन्छ । सरकारले ७० प्रतिशत लगानी गर्नेछ । ‘महानगरपालिकाले २० प्रतिशत रकम उपलब्ध गराउने छ,’ उनको भनाई थियो । खानेपानीको लागि फुस्रे खोलामा दुई लाख लिटरका दुईवटा ट्याङकी निर्माण गरिएको छ । फिल्टर गरिएको पानीलाई विभिन्न ठाउँमा पानी ट्याङकी निर्माण गरी पाईप मार्फत घरको धारासम्म पुर्‍याईने छ । खानेपानीको आयोजना पूरा भएपछि २३.५ लिटर प्रतिसेकेण्ड खानेपानी घरको धारामा पुग्ने विश्वास छ ।  

पोखरामा दैनिक पाँचकरोड लिटर पानीको माग छ । पोखरा खानेपानी संस्थानमा अहिले ४२ हजारको हाराहारीमा धारा जडान गरिएको तथ्यांक छ । मर्दीखोला, भोटीखोला, कालीमुढा र बालधाराबाट पानी वितरण हुँदै आएको छ । त्यसै गरी ५ वटा बोरिङ (फूलबारी, पार्दी, हिमालीटोल, चाउथे र माटेपानी)को पानी समेत पाईप मार्फत विरण हुदैं आएको संस्थानले जनाएको छ । जाईकाको सहयोगमा शुरु गरिएको ५ अर्ब लागतको खानेपानीको योजना सन २०२१ को अन्त्यसम्ममा टुंग्याउने लक्ष्य छ ।

लेखनाथ क्षेत्रमा पनि दुईवटा आयोजना सहलगानीमा पूरा भएका छन् । पहिलो सहलगानीको आयोजनाले वडा नं २६,२७ र २८ वडावासीलाई खानेपानी आपूर्ति गरिएको छ । जुन आयोजनाको लागि २८ करोडको अनुमान गरिएपनि १९ करोडमा विडिङ भएको थियो । त्यस्तै दोस्रो सहलगानीको आयोजना भने पोखरा–३१ बेगनास क्षेत्रलाई समेटिएको छ । लागत अनुमान १२ करोड भएपनि विडिङ ९ करोडमा भएको थियो ।  

‘लेखनाथको झण्डै दैनिक १ करोड लिटर पानी आपूर्ति हुन्छ,’ लेखनाथ खानेपानी उपभोक्ता संस्थाका प्रमुख शिव अमात्यले भने, ‘आपूर्ति भएपनि लिकेजको समस्या बढी छ ।’ उनका अनुसार ३२ प्रतिशत पानी चुहावट हुने गरेको छ । खानेपानीको लागि मादी गाउँपालिकाको ग्युजे खोलाबाट ल्याइएको छ । ल्याइएको पानीलाई विभिन्न स्थानमा ट्यांकी निर्माण गरी वितरण गरिएको उनले बताए । आयोजनामा उपभोक्ताको ३० प्रतिशत लगानी छ । संस्थाले ७ वटा बोरिङ मार्फत खानेपाीको आपूर्ति गर्दै आएको उनले बताए । उनका अनुसार लेखनाथको बजार क्षेत्रमा १४ हजार धारामा पानी आपूर्ति हुँदै आएको छ । 

प्रकाशित: १५ असार २०७८ १२:४९ मंगलबार

पोखरा खानेपानी आयोजना