समाज

तीन सातादेखि महिला बेपत्ता, हत्या गरी गाडिएको आशंकामा उत्खनन

बेपत्ता बहिनी सुजाताको हत्या गरि शव गाडिएको शंकास्पद स्थान उत्खनन स्थलमा भावविह्वल शिवम पाण्डे । तस्बिरः नागरिक

गत जेठ १९ गतेदेखि बेपत्ता महोत्तरीकी महिलाको अवस्था अझैं अज्ञात छ। बेपत्ता महिलाको हत्या गरी खेतमा शव गाडेको माइती पक्षको दाबीपछि प्रहरीले आइतबारबाट उत्खनन तथा खोजी थालेको हो।  

महोत्तरीको लोहारपट्टी नगरपालिका–७ का मुकेश ठाकुरकी श्रीमती २६ वर्षीया सुजितादेवी ठाकुर १९ जेठदेखि बेपत्ता छिन्। महोत्तरी प्रहरी प्रमुख एसपी दिनेश आचार्यका अनुसार अहिलेसम्म सुजिताको अवस्था अज्ञात नै छ। उनले थपे,‘प्रहरीको अहिलेसम्मको अनुसन्धानबाट उनको अवस्था ज्ञात हुन सकेको छैन।’

सुजिताको माइती पक्षले दाबी गरेको स्थानमा खन्दा कपाल भेटिएको छ। मुकेशकै खेतमा खन्दा कपाल भेटिएको छ एसपी आचार्यले नागरिकसँग भने,‘शव पहिचानका लागि चाहिने अंग वा हाड केही फेला परेको छैन। कपाललाई नै आधार मानेर हामी केही भन्न सक्ने अवस्थामा छैनौं।’  

बेपत्ता महिलाको माइती पक्षले उनको ससुरा ५० वर्षीय पतिराम ठाकुर, देवर २६ वर्षीय रूपेश ठाकुर र देउरानी २५ वर्षीया रोमी ठाकुरविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए। किटानी जाहेरी प्रहरीले दर्ता गर्न मानेनन् सुजिताको दाई शिवम पाण्डेले भने,‘त्यसपछि खोजतलासका लागि निवेदन दिएका थिए।’

आइतबार उत्खनन गर्दा कपाल, नङ र रगत लत्पतिएको माटो फेला निस्केको छ पाण्डेले भने,‘शव गलाउन मलखाद र नुनको समेत प्रयोग गरिएको देखिएको छ।’ ‘खाल्डो खन्दा दुर्गन्धले बस्नै नसक्ने भएको थियो’, उनले भने,‘हत्या गरेरै गाडेजस्तो देखिन्छ।’

‘घरायसी विवाद झिकेर ससुरा, देबर र देउरानी मिलेर सुजितालाई पटक पटक कुटपिट गरिरहन्थ्यो,’ शिवमले भने, ‘एक वर्षअघि पनि मुखमा तकिया कोचेर पिट्दा थानामै मिलापत्र गराइएको थियो।’ सुजिताको श्रीमानलाई भाई रुपेशले दबाउन खोज्दा उनी प्रतिवाद गर्थिन्। जसका कारण उनी देवर र ससुराको तारो बनेको थियो शिवमले भने,‘पहिला पनि मार्नै खोजेको थियो। त्यो बेला उनी बाच्न सफल भईन्। तर यसपाली सबै मिलेर मेरि बहिनीलाई मारिदिए, उनी भक्कानिँदै भने।’

सुजिताको माइती पक्षले निसाफका लागि मधेसी आयोग गुहारेपछि उनी खोजीमा प्रहरी सक्रियता बढाइएको पीडित परिवारले बताए।  बेपत्ता घटनाको छानविन गर्न महिला आयोगले दबाब दिएपछि प्रहरी शंकास्पद स्थानमा उत्खनन गर्न पुगेको पीडित परिवारले बताए। 

प्रकाशित: १३ असार २०७८ १५:०४ आइतबार