समाज

मदन लोकमार्गको गाईघाट–बसाहा खण्डमा ५ वटा पुल थपिँदै

पूर्व–पश्चिम महेन्द्र लोकमार्गको बिकल्प र मध्य पहाडी जनजीवनको ‘लाईफलाईन’ बन्दै गएको निर्माणाधीन ‘मदन भण्डारी लोकमार्ग’को गाईघाट–बसाहा खण्डमा थप ५ वटा पक्की पुल बनाउन सुरु गरिएको छ। सदरमुकाम गाईघाटदेखि चौदण्डीगढी नगरपालिका ४ बसाहा खण्डमा पर्ने विभिन्न ५ वटा खहरे खोलामा पक्की पुल निर्माण कार्य सुरु भएको हो।  

लोकमार्ग निर्माणको पहिलो चरणमा पुल बनाउन छुटेका असारी खोला, खैराहाझोडा, ज्यामिरे खोला, लामा खोला र सुन्दरी खहरेमा पुल बनाउन थालिएको लोकमार्ग कार्यालय गाईघाटले जनाएको छ। लोकमार्ग कार्यालय प्रमुख (डिई) बेलबहादुर भुजेलका अनुसार सडक बनाउँदा पहिलो चरणमा पुल बनाउन छुटेका खहरे खोलामा स्थानीयको माग अनुसार थप पुल बनाउन लागिएको हो। जस अनुसार त्रियुगा नगरपालिका १३ को असारी खोला, चौदण्डीगढी नगरपालिका १० मा पर्ने खैराहा र ज्यामिरे तथा चौदण्डीगढीकै ४ नं. वडामा पर्ने लामा र सुन्दरी खोलामा पक्की पुल बनाइने छ।  

डिई भुजेलले लोकमार्ग निर्माण गर्नुअघि सर्भे र विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) बनाउँदा पुल बनाउन छुटेका खहरेखोलामा वर्षायाममा बाढी आएर सडक अवरुद्ध गर्ने गरेपछि थप पुल बनाउने योजना अघि सारिएको हो। जस अनुसार गाईघाटदेखि बेलटारबीचका ज्यामिरे र बसाहाको लामा खोलामा ६ महिनाअघि नै पुल निर्माण कार्य सुरु भएको छ। लामा खोलामा ८० मिटर लामो २ स्पानको पुलको एउटा स्मान भर्खरै ढलान भईसकेको छ भने अर्को स्पान पनि यही असारभित्र ढलान गर्ने तयारी भइरहेको छ।  

चौदण्डीगढीकै १० नं. वडामा पर्ने ज्यामिरे खोलामा ५० मिटरको १ स्पानको पुल बनाउन पिल्लर उठाइँदै छ। त्यहाँ पनि छिट्टै स्पान ढलान गर्नेगरी धमाधम काम भइरहेको लोकमार्ग कार्यालयले जनाएको छ। चौदण्डीगढी ४ स्थित सुन्दुरी खोलामा पनि पुलको जग खन्ने काम सुरु भएको छ। त्यहाँ ३० मिटर लम्बाईको एक स्पानको पुल दसैंतिहारपछि सक्ने गरी काम थालिएको लोकमार्ग कार्यालयका साईट इन्चार्ज इन्जिनियर शंकर पौडेलले बताए।  

पौडेलले लामा खोलाको पुलको काम ३० प्रतिशत भइसकेको र यही असार मसान्तभित्र अर्को स्पान पनि ढलान गरेर सकेसम्म आउँदो दसैंअघि नै गाडी आउजाउ गर्न मिल्नेगरी दु्रतगतिमा काम भईरहेको बताए। लामा खोलामा वर्षेनी आउने बाढीले वर्षायाममा कैयौ दिनसम्म बाटो अवरुद्ध पार्ने भएकाले सकेसम्म यही वर्षामा पुल सक्नेगरी छिटोछिटो काम भइरहेको छ।

गतवर्ष लामा खोलाको बाढीले एकजनाको ज्यान लिएको हुनाले अहिलेकै बाढी छल्न सक्नेगरी पुल बनाउने काम भईरहेको इन्जिनियर पौडेलले बताए।  

त्यस्तै बसाहाकै अर्को सुन्दरी खोलामा पनि पक्की पुल निर्माणका लागि जग खन्ने काम सुरु भएको छ। इन्जिनियर पौडेलका अनुसार लामा, ज्यामिरे र सुन्दरी खोलाका ३ वटै पुल बनाउने जिम्मा सपना–हिन्दु–थोकर जेवीले लिएको छ। मूल्य अभिबृद्धि कर (भ्याट) बाहेक ३३ करोड लागतमा ३६ महिला (३ वर्ष) भित्र ३ वटै पुल निर्माण गरिसकेर हस्तान्तरण गर्नेगरी जेवीले गत ०७६ जेठमा ठेक्का सम्झौता गरेको पौडेलको भनाइ छ।

यता खैराहा र असारी खोलामा पनि आउँदो भदौदेखि पुल बनाउने काम सुरु गर्नेगरी प्रक्रिया अन्तिम चरणमा पुगेको छ। खैराहा र असारी दुवैमा समान ५० मिटर लम्बाईका १ स्पानका पुल बनाउने गरी प्राविधिक इस्टीमेट बनाएर सडक विभागमा पठाइएको र स्वीकृत भएर आउन बाँकी रहेकाले दसैं तिहारपछि निर्माण कार्य थाल्ने गरी प्रक्रियाअघि बढेको कार्यालयले जनाएको छ।

प्रकाशित: १३ असार २०७८ ०६:३६ आइतबार

महेन्द्र लोकमार्ग कार्यालय प्रमुख