समाज

खोलामा पुन नहुँदा समस्या

खोलामा पुल नहुँदा बझाङको साइपाल गाउँपालिका–४ धुलीका स्थानीय सास्ती भोग्दै आएका छन्। न्युना र धुलीको सीमामा रहेको रामु खोलाको काठे पुल असार पहिलो साता आएको बाढीले बगाएपछि स्थानीयबासी सास्ती भोग्न बाध्य भएका हुन्।

तिब्बतको ताक्लाकोटसम्म जोडने बाटोमा पुल नहुँदा ओहोरदोहर गर्न समस्या हुने गरेको साइपाल गाउँपालिका–४ धुलीका स्थानीय पुष्कर रोकायाले बताए। बर्खामा पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ।

जिल्लाकै विकट मानिने साइपाल गाउँपालिका सदरमुकाम चैनपुरबाट ३ दिनको पैदल दूरीमा पर्छ। सडक यातायात र बाटोघाटोको समस्याले स्थानीय कठिनाइ भोग्न बाध्य छन्। स्थानीयले बनाएको काठे पुल बर्सेनि बगाउने गरेको छ। पक्की पुलको लागि कसैले पहल नचालेको साइपाल गाउँपालिका–४ की कञ्जु भण्डारीले बताइन।

झोलुंगे पुलका लागि डिटेल सर्बे गरिए पनि बजेट अभावमा पुल बनाउन नसकिएको गाउँपालिकाका अध्यक्ष रोजन्द्र धामीले बताए। गाउँपालिकाले केही वर्षअघि झोलुङ्गे पुलको लागि प्राविधिक स्टमेट बनाए पनि अहिलेसम्म पुल बन्न सकेको छैन। गाउँपालिकाको रकमले मात्र पुल निर्माण गर्न नसकिने भएकाले प्रदेश र केन्द्र सरकारले पनि यसमा सहयोग गर्नुपर्ने साइपाल गाउँपालकाका अध्यक्ष धामीले जानकारी दिए।

बर्खामा जोखिम मोलेर गाउँ पुग्नुपर्ने बाध्यता भएको ४ नम्बर वडाकी सचिव गौरा महराले बताइन्। ज्यानै जोखिममा राखेर गाउँ पुग्नुपर्ने बाध्यता छ। विकट क्षेत्र हिँडेर पुग्नुपर्ने झन् पुल नहँुदा सास्ती भोग्दै आएको उनले बताइन्।

बर्खायामका चार महिना हामीलाई पुल अभावमा अरू गाउँसँग सम्बन्धविहीन हुनुपर्छ पुल निर्माणको लागि बर्सेनि माग गरे पनि सुनुवाइ नभएको ४ नं. वडाकी वडासदस्य अमृता कामीले बताइन्।

रामु खोलामा पुल नहुँदा स्वास्थ्य सेवा पनि सहज रुपमा पाउन नसकेको स्थानीय बताउँछन्। बिरामीलाई उपचारको लागि अन्यत्र लैजान नसक्दा समस्या हुने गरेको छ। स्वास्थ्यकर्मीबाट उपचार नपाएपछि झारफुक गर्न खोजिन्छ, बिरामी निको नभएर अकालमै ज्यान गुमाउने गरेका छन्।

पुल नहुँदा ओहोरदोहोर गर्न कष्टकर मात्रै भएको छैन वर्षेनी कैयौँले अकालमा ज्यान गुमाउनुपर्ने कहालीलाग्दो अवस्था छ। सबैभन्दा बढी समस्या दैनिक विद्यालय जानुपर्ने बालबालिका र बिरामीलाई हुने गरेको छ।

पुल भइ दिएको भए ओहोरदोहोर गर्न सहज हुने स्थानीयले बताउँदै आएका छन् । स्थानीय मात्र होइन साइपाल गाउँपालिकामा पुग्नेहरुलाइ पनि यात्रा निकै कष्टकर हुने गरेको बताउँछन्।

जनप्रतिनिधि र कर्मचारीले बनाए काठे पुल  

लगातारको बर्षा खोलामा उर्लिदो बाढीका बिच साइपाल गाउँपालिका–४ का जनप्रतिनिधि र कर्मचारीले आफै रुख काटेर रामु खोलामा काठे पुल निर्माण गरेका छन्। गाउँपालिकाको केन्द्र काँडा जान अन्य विकल्प नभएपछि काठे पुल बनाएर नदी तरेको ४ नम्बर वडाका वडाध्यक्ष जयसिं बोहराले बताए। ‘गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटमा सहभागी हुन जाँदा खोलामा पुल थिएन,’ उनले भने ‘खोला तर्न सकिने अवस्था थिएन, उर्लदो भेलमा जोखिम मोलेर वडाका जनप्रतिनिधि र कर्मचारी मिलेर काठे पुल बनायौं।’

प्रकाशित: १० असार २०७८ ०९:१९ बिहीबार

खोलामा पुल