समाज

पाँच विद्यार्थी संगठनले संयुक्त आन्दोलन गर्ने

प्रधानमन्त्री ओलि नेतृत्वको सरकारले कोरोना कहरले आक्रान्त जनतालाई राहत दिनुको साटो एकपछि अर्को गर्दै कुशासन, महँगी र भ्रष्टाचार थोपारिरहेको भन्दै असार १० गतेदेखि पाँच विद्यार्थी संगठनहरू संयुक्त रूपमा सरकारविरुद्ध सडक आन्दोलनमा उत्रते घोषणा गरेका छन्।  

नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अखिल(क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल (छैठौं)का अध्यक्ष विमल पोख्रेलको हस्ताक्षरसहितको संयुक्त प्रेस विज्ञप्ति बुधबार जारी गर्दै ओली नेतृत्वको प्रतिगामी सरकारका तमाम् असंवैधानिक अलोकतान्त्रिक र जनविरोधी हर्कतविरुद्ध सडक आन्दोलनको घोषणा गरेका छन्।  

असार १० गते बिहीबार दिउँसो ३ बजे उपत्यकाको प्रदर्शनी मार्गमा मुलकुलकका प्रमुख पाँच विद्यार्थी संगठनको तर्फबाट समाजिक दूरी र स्वास्थ्यको मापदण्ड भित्र रही संयुक्त विरोध प्रदर्शनको कार्यक्रम आन्दोलन स्वरूप गरिने तय गरिएको विज्ञप्तिमा उल्लेख छ। उपत्यकाबाहिरसमेत पाँच विद्यार्थी संगठनको देशभरि नै संयुक्त आन्दोनल गरिनेसमेत विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १० असार २०७८ ०१:५६ बिहीबार

संयुक्त आन्दोलन विद्यार्थी संगठन