समाज

मनाङ : पुल नाघेर मर्स्याङदी बगिरहेछ

कुनबेला कता बगाउने हो भन्न सकिन्नः प्रशासन

दिउँसो घरमा, राती टेण्टमा

मनाङको चामेमा पुलमाथिबाट बगेको मस्र्याङदी । तस्बिरः नागरिक

हिमाली जिल्ला मनाङमा असारको पहिलो साताको भीषण बाढीपहिरोले मस्र्याङदी नदी किनारका धेरै बासिन्दालाई उठिबास लगायो । नदी कटानमा परेर बिस्थापित भएका धेरै बासिन्दा अझै घर फर्किन सकेका छैनन् । नदीको त्रास कायम रहिरहँदा बिस्थापितलाई तत्काल घर फर्काउने अवस्था पनि नरहेको स्थानीय प्रशासनले बताएको छ ।  

सदरमुकामस्थित चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार बाढीले कतिखेर कटान गर्ने हो भन्ने डर छ । मनसुन भर्खर सुरु भएको र अझैपनि बाढीको त्रास रहेको हुँदा बिस्थापितलाई तत्काल घर फर्काउने अवस्था छैन । उनका अनुसार चामे गाउँपालिकामा मात्र १४ घरका बासिन्दा पूर्णरुपमा बिस्थापित छन् । ती बाहेक जोखिमका कारण अरु घरका बासिन्दा पनि अहिलेसम्म घर फर्किन सकेका छैनन् ।

‘मस्र्याङदीको जोखिम घटेन, त्यसले गर्दा बिस्थापितलाई घर फर्काउने अवस्था नै छैन,’ घलेले भने, ‘बिस्थापितहरु अहिले पनि कारागारको नवनिर्मित भवनमा र केही टेण्ट टाँगेर बसेका छन ।’ उनका अनुसार सबैभन्दा बढी त्रास अहिले पुल नाघेर मस्र्याङदी खोला बग्दा भएको छ । सदमुकाम चामेलाई दुईवटा घट्टे खोलाले घेरेको छ । तिनै घट्टेखोलाले बगाएर ल्याएको ढुंगा, बालुवा, गिट्टी, मुढा मस्र्याङदीको पुलमुनि थुप्रो लगाएको छ ।

पुलमुनि सामाग्री थुप्रिदा खोलाको सतह पुलभन्दा अग्लो बनेको छ । अहिले मस्र्याङदीको पानी पुलमाथिबाट बगेको छ । बाढी आउनुअघि पुल र खोलाको पानीको सतहको उचाई झन्डै ९ मिटर थियो । त्यो सबैभाग अहिले ढुंगा, मुढाले पुरिँदा खोलाको सतहले नै पुल नाघेको घलेले बताए । अहिले नै पुलभन्दा झन्डै ४ मिटर माथिबाट खोला बगिरहेको उनले सुनाए ।

‘पुलको माथिबाट खोला बगिरहेकोले अब बाढी आयो भने सिधै वहाव परिवर्तन भएर सदरमुकामतिर मोडिनेछ, त्यसले झनै जोखिम बढाएको छ,’ घलेले भने, ‘अहिले पनि पुलमाथिबाट बगेको खोलाले चारवटा घरको आँगन कटान गरिरहेको छ भने लोकप्रिय माविको मैदान पनि जोखिममा छ ।’ मस्र्याङदीमाथिको पुलले नै अहिले ड्यामको काम गरेको उनले बताए ।  

‘भारी वर्षा र त्यसपछिको भेलबाढीले पुलमुनिको सबैखण्ड पुरियो । अनि पानीको सतह ह्वात्तै माथि आयो । अब बाढी आउँदा सिधै बस्तीमा छिर्छ, त्यो बेला झनै बढी क्षति हुनसक्छ,’ उनले भने, ‘त्यही त्रासले पनि बिस्थापितलाई घर फर्काइहाल्ने अवस्था रहेन । अहिले सुरक्षित ठाउँमा राख्ने काम मात्र भएको छ । टेण्ट टाँगेर र कारागारको भवनमा राखेका छौ ।’

जहिलेसम्म खोलालाई पहिलेकै आकारमा फर्काउन सकिन्न, त्यो बेलासम्म बिस्थापितलाई घर फर्काउँदा जोखिम हुने उनले बताए । ‘जेठ १४ को बाढीले एउटा घर बगायो, असार १ को बाढीमा ९ वटा घर बगे । अझै वर्षाको धेरै समय बाँकी रहेकोले तत्काल घर फर्किने अवस्था छैन,’ उनले भने, ‘पुलमुनि थुप्रिएको सामान सहजै हटाउन पनि सकिन्न । बढेमानका ढुंगा थुप्रिएकोले पनि हटाउन सकिन्न । सडक नै बगेकोले पनि हटाउने उपकरण लैजान सकिएको छैन । त्यसबाहेक खोलाको वहाव निकै नै ठुलो भएकोले सहजै खुलाउन सकिने अवस्था छैन । खोला दायाँबायाँबाट कटान गर्दै बगेको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार मस्र्याङदी नदीको पारिपट्टि चामे–५ भक्तपुर र वारीपट्टि चामे–४ सदरमुकाम पर्छ । मस्र्याङदीमाथिको ट्रसको पुल नै नाँघेर अहिले खोला बगेको छ । खोलामा पानीको वहाव बढी भएकोले अड्किएका बढेमानका काठका मुढा र ढुंगा हटाउन सकिएको छैन । ढुंगामुढा हटाउन नसक्दा पानीले पुलको दायाँबायाँबाट कटान गरिरहेको छ । वर्षा भएर वहाव बढ्दा अरु थप कटान बढ्ने त्रास रहेको उनले बताए । एकाएक पुल सहित बग्ने अवस्था आयो भने तटिय क्षेत्र झनै जोखिममा पर्ने त्रास रहेको उनले बताए ।  

‘खोलाको वहाव नै रोकिएको त होईन, । तर, अहिलेको भन्दा वहाव बढ्दा दायाँबायाँ थप कटान हुने हुँदा झनै जोखिम बढाएको छ,’ प्रजिअ लामिछानेले भने, ‘सदरमुकाम चामे नै जोखिममा छ । बढेमानका ढुंगा ल्याएर खोलामा थुपारेको छ, त्यसले वहाव परिवर्तन गराएको छ । पुलभन्दा झन्डै २ मिटर माथिबाट पानी बगेको छ ।’ सदरमुकामपट्टि कटान गरिरहेपनि बीचमा सानो अर्काे खोला भएको र त्यहाँ ढुंगा रहेकोले अहिलेसम्म सुरक्षित रहेपनि मस्र्याङमा वहाव बढेको खण्डमा जोखिम थपिने उनले बताए ।

प्रजिअ लामिछानेका अनुसार बिस्थापितहरु अहिले पनि घर फर्किन सकेका छैनन । अघिल्लो साता कारागार र टेण्टमा मात्र झन्डै ६ सय जना बसेका थिए । ती मध्ये केही कामदार थिए । अहिले कामदार भने घर फर्किएकाले करिब ४ सयजना अभैmपनि घर फर्किन नसकेको उनले बताए ।

‘दिउँसो घरमा आएपनि राती फेरि सुरक्षित स्थानमा जानुको विकल्प छैन । प्रहरी नै समस्यामा छ । जनता आतंकित हुने भयले मात्र प्रहरी जसोतसो आफ्नै कार्यालयमा रोकिएको हो,’ उनले भने, ‘तर जोखिम निम्तियो भने त प्रहरी पनि सुरक्षित ठाउँमा जान्छ ।’  

सदरमुकाम मात्र नभई नासाँे गाउँपालिकाका ताल र धारापानीमा पनि बिस्थापितहरु अझै घर फर्किन सकेका छैनन । घर नै नबगेको भएपनि घरभित्र बालुवा र ढुंगा थुप्रिएका छन । ‘अझै पनि बाढीको त्रास छ । जोखिम थाहा हुँदाहुँदै पनि घर फर्किन भन्न सकिन्न,’ लामिछानेले भने, ‘अहिलेपनि टेण्टमै बसेका छन । खोलाकिनारबाट केही माथि भएका बासिन्दा मात्र घर फर्किएका छन ।’  

उनका अनुसार पुलले रोकेको मस्र्याङदीको वहावलाई पुरानै ठाउँबाट बगाउनका लागि पहल भईरहेको छ । त्यसका लागि बिग्रिएर थन्केको एउटा स्काभेटर परिचालन गरेपनि वहाव बढ्दा सफल हुन सकेको छैन । सडकमा रहेका अरु स्काभेटरका लागि इन्धन अभाव भएपछि एयर लिफ्ट गरेर लैजाने र खोलाको वहाव फर्काउनमा प्रयोग गर्ने तयारी भएको छ । लम्जुङको बेसीसहरदेखि मनाङको चामेसम्मको ६५ किलोमिट सडक मध्ये मनाङ खण्डमा मात्र २५ प्रतिशत सडक क्षतिविक्षत भएकोले पनि स्थलमार्गबाट इन्धन र उपकरण ल्याउन सकिन्न । पुल बगेकोले पनि तत्काल यातायात संचालन सहज नभएको उनले बताए ।

प्रकाशित: ९ असार २०७८ १२:१४ बुधबार

तहसनहस मनाङ