समाज

तेलको ग्यालेनभित्र लागुऔषध

लागुऔषधसहित प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ। भारतको जोगबनीबाट खाने तेलको ग्यालेनभित्र लुकाएर ल्याउँदै गर्दा सीमा क्षेत्रबाट पक्राउ गरेको गरेको प्रहरीले जनाएको छ।

जोगबनीबाट लागुऔषध लिएर आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट सुनसरी चक्रघट्टीका ३२ वर्षीय राजकुमार मगर पक्राउ परेका हुन्। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार लागुऔषध ओसारपसार गर्ने गिरोहले नयाँ नयाँ ढंगबाट ल्याउने गरेको बताए।  

जोगबनीबाट बुधबार साँझमा नेपालतर्फ आउँदै गरेको मगरलाई प्रहरीले चेक गर्दा उनले ल्याएको खाने तेलको ग्यालेनभित्र लागुऔषध भेटिएको एपी श्रेष्ठले बताए। उनका अनुसार मगरले बोकेको ग्यालेनभित्रबाट लागुऔषध एभिल ७७ एम्पुल, लुपिजेसिक ७५, डाइजेल्याप ७५ र फेनारगन ७८ एम्पुल बरामद भएको छ।

पक्राउ परेका मगरविरुद्ध इलाका प्रहरी कार्यालय रानीले लागुऔषध कसुरमा मुद्दा चलाउने जनाएको छ। 

प्रकाशित: ९ असार २०७८ ११:४० बुधबार

लागुऔषधसहित पक्राउ महानगरपालिका