समाज

‘आकाश हेर्दै खोला सुन्दै सुत्छौं’

एक सय पाँच घर जोखिममा दूषित खोलाको पानी खान बाध्य, अन्धकारमा बस्ती

बाढीको उच्च जोखिममा रहेको वादी बस्ती। तस्बिर सौजन्य: सुरेश आचार्य।

भेरी नदी र झुप्रा खोलाको दोभान। त्यही दोभानमा एक सय पाँच घरपरिवार रहेको वादी समुदायको बाक्लो बस्ती । जुन बस्ती हो झुप्राखोला शान्तिपुर झुप्रा। जो बस्ती रातभरि निदाउँदैन । आकाशमा कालो बादल मडारिन लाग्दा खोलातिरै नजर हुन्छ । कारण, ‘झुप्रा खोलामा आउने बाढीको जोखिम ।’ खोलाको ढिलसँगै लस्करै बनेका बस्ती बाढीको उच्च जोखिममा छ।

लगातारको वर्षासँगै खोलामा आउने बाढी र भेरी नदीले थुनेर बन्ने तालले पूरै बस्ती उच्च जोखिममा रहेको यहाँका बासिन्दाको भनाइ  छ । २०७१ सालको बाढीले यो बस्ती पूरै बगाएको थियो । त्यतिबेला यहाँका समुदाय तत्काल भागेपछि मानवीय क्षति भएन। तर घरमा पालिएको भेंडाचौपाया र कुखुरासँगै घर बगायो। बस्तीमै खोला बग्यो । केही दिन अघि एकसाता लगातार भएको वर्षापछि खोलामा पानीको सतह बढ्दा बस्तीसम्मै बाढी पुग्यो तर घरभित्र जलमग्न भएन। करिब पाँच वर्ष अघि लगाइएको तटबन्ध सानो हुँदो गाउँसम्मै बाढी पुगेको स्थानीय बताउँछन्।  

खोलासँगै अडेस लागेर बनेको बस्ती बाढीको उच्च जोखिममा भएको उनीहरुले जनाए । ‘हामी बाढीको उच्च जोखिममा छौं,’ यहाँका स्थानीय कर्णबहादुर वादीले भने, ‘हाम्रो सुरक्षाका लागि सरकारले चासो देखाएन ।’ संघ, प्रदेश र स्थानीय तहको चुनावताका नेताहरुले बस्ती सुरक्षित गर्ने आश्वासन दिएको भन्दै उनले भने, ‘चुनाव पछि बाचा पूरा त परकै कुरा हो । अहिलेसम्म पाइलासमेत टेक्नु भएको छैन ।’

घाम लाग्यो भने यहाँका बासिन्दाको मनमा शान्ति हुन्छ र खुसी छाउँछ । जब आकाशमा कालो बादलसँगै गड्याङगुडिङ हुन्छ अनि मनमा खोलाको पानीभन्दा चिसो सिरेटो पस्छ। ‘आकाश हेरेरै रातभर जाग्राम बस्छौं,’ धनबहादुर वादीले भने, ‘श्रीमान् श्रीमती पालोपालो गरेर आकाश हेर्दै खोलाको आवाज सुन्दै सुत्दै गर्छाैं ।’ आकाश उज्यालो हुँदाको दिन भने बिना तनाव सुत्ने गरेको उनी बताउँछन्। यो बस्तीका सबैजसो वर्षाको समयमा राम्रोसँग सुत्न पाउँदैनन्। 

‘कतिबेला बाढी आउँछ पत्तै हुँदैन,’ उनले भने, ‘त्यसैले ढुक्कका साथ सुत्न सकिँदैन ।’ २०७१ सालमा आफ्नो बस्तीतिर आकासे पानी नआए पनि बाढी आएको स्मरण गर्दै उनी भन्छन्, ‘त्यतिबेला (२०७१) सालमा माथि धेरै पानी परेको रहेछ । एक्कासि बाढी आयो ।’ अन्यत्र सुरक्षित स्थानमा आफ्नो जग्गा नहुँदा आफूहरुले बस्ती सार्न नसकेको उनी बताउँछन् । २०३६ सालमा यहाँ बस्ती बसेको थियो । भेरी नदीको पुल निर्माण गर्दा बालुवा, गिठ्टी निकाल्न आएका वादी समुदाय यही बस्ती बसाएका थिए । झुप्रा खोलाबाट बालुवा, गिठ्टी, ढुंगा निकाल्न पाइने हुँदा यहाँ बस्ती बसेको उनका भनाइ छ।

पहिला दुई/चार घरबाट मात्र सुरु भएको बस्ती अहिले ठूलो भइसकेको छ। सरकारले सुरक्षित स्थानमा स्थानान्तर गरे आफू सर्न तयार भएको यहाँका बासिन्दाको भनाइ छ । ‘हामीलाई सरकारले सुरक्षित स्थानमा सार्छ भने जान्छौं,’ महिला समूहकी अध्यक्ष गोल्मा वादीले भनिन्, ‘तर खोलाबाट हुने हाम्रो आम्दानी छेक्न पाइँदैन ।’ खोलाका ढुंगा, बालुवा र गिठ्टी बिक्री गरेर उनीहरु जीविकोपार्जन गर्छन । तर अहिले जथाभावी मेसिन गरेर खोला दोहन गर्दा उनीहरुको आम्दानीको स्रोत खोसिएझै भएको छ। खोला उत्खनन हुँदा अहिले खोला करिब तीन/चार मिटर भासिएको छ ।

पानीमाथि बस्ती तर खानेपानी छैन

बादी समुदायको बस्ती भएको यहाँ खानेपानीको ठूलो अभाव छ। नजिकै पानी मुहान नहुँदा उनीहरु खोलाको पानी खान बाध्य छन् । सरकारले बादी समुदायलाई उपेक्षा गरेकाले खोलाको पानी खान बाध्य भएको दिपक वादी बताउँछन् । ‘नजिकै पानी नहुँदा अहिले पनि खोलाको धुमिलो पानी खान्छौं,’ उनले भने, ‘सरकारले हामीलाई मानव जस्तो व्यवहार गरेन।’

अध्याँरो बस्ती

यहाँ विद्युत् लाइनसमेत विस्तार भएको छैन । प्रदेश राजधानी वीरेन्द्रनगरको क्षेत्रमा पर्ने यस बस्तीमा अझै विद्युत् सेवा पुग्न सकेको छैन । जसले गर्दा बस्ती अध्याँरो त छ नै प्रदेश राजधानीमा सरकारले गरेको विकासको नमुना पनि यस बस्तीले झल्काएको छ । विद्युत् नहुँदा यहाँका वादी समुदाय दियालो बाल्न बाध्य छन् । ‘कतिपयले सोलार प्रयोग गर्छन्,’ दिपक भन्छन्, ‘कसैले मट्टितेल प्रयोग गर्छन् । अतिविपन्नले दियालो नै बाल्छछन्।’

प्रकाशित: ८ असार २०७८ ०९:०१ मंगलबार

अन्धकारमा बस्ती वादी बस्ती