समाज

मर्स्याङदीको वहाव रोकिँदा जोखिम

मनाङ सदरमुकाम चामेको पुल। योपुल नाघेर अहिले मर्स्याङदी बगेको छ। तस्बिरः नागरिक

मनाङको चामेमा मर्स्याङदी नदीको वहाव रोकिँदा त्यस क्षेत्रमा जोखिम बढाएको छ। माथिबाट आएका घट्टे खोलाले मर्स्याङदीको वहावमा अवरोध सिर्जना गर्दा जोखिम बढाएको स्थानीय प्रशासनले बताएको छ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुुसार मर्स्याङदीको वहावलाई अवरोध गर्नेगरि घट्टे खोलाले रुखका मुढा, ढुंगा मस्र्याङदीमा पुर्‍याएको छ। त्यसबाहेक गेग्रान पनि थुप्रिँदा पानीको सतह माथिसम्म आएको लामिछानेले बताए । उनका अनुसार चामेको पुलमाथिबाटै अहिले मस्र्याङदी बगिरहेको छ।

‘घट्टेखोलाले काठमा मुढा र ढुंगा बगाएर मस्र्याङदीमा मिसाउँदा वहाव नै रोकिएको हो। तर पूर्ण रुपमा मर्स्याङदी बग्नबाट रोकिएको भने होईन,’ उनले भने, ‘पानी सहजै बग्न नपाउँदा पुल नै नाघेको छ। यसले जोखिम भने बढाएको छ।’ रोकिएको ठाउँको पानीको वहाव घटाउनका लागि सुरक्षाकर्मी परिचालन गरेको भएपनि वर्षा भईरहेकोले समस्या भएको उनले बताए।

‘एक्कासी फुट्ने हो की भन्ने त्रास छ । पुल नै बगाउनले जोखिम पनि छ,’ उनले भने, ‘तत्काल वहाव खोल्ने अवस्था छैन। नदीमा पानीको वहाव घटेको खण्डमा बल्ल ढुंगामुढा हटाएर वहावलाई पहिलेकै अवस्थामा फर्काउनुपर्ने हुन्छ।’ अहिले सुरक्षाकर्मीले पुल क्षेत्रको रेखदेख गरिरहेको उनले बताए। 

प्रकाशित: ६ असार २०७८ १२:५६ आइतबार

मनाङ