समाज

उपत्यकामा निषेधाज्ञा खुकुलो, निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू

बारअनुसार पसल खोल्न पाइने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता  थपिएको छ । जारी निषेधाज्ञालाई केही खुकुलो पार्दै एकसाता लागि थप्ने निर्णय गरिएको हो । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको  बैठकले यस्तो निर्णय गरेको हो ।  

यसअघि असार ७  जारी गरिएको निषेधाज्ञाको अवधि अब १४ गतेसम्म कायम रहने छ। तर यसपटक निजी सवारी साधन पनि जोर–विजोर नम्बर प्लेटअनुसार चल्न दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।  

त्यस्तै उपत्यकमा चल्ने ट्याक्सीहरू पनि जोरविजोर गरेर चलाउन पाइने उनले बताए । उनका अनुसार निषेधाज्ञा अवधिभर भिडभाड हुने कुनै पनि क्षेत्र सञ्चालन गर्न पाइने छैन। विवाह ब्रतबन्धको हकमा भने १० जनासम्म स्वास्थ्य मापदण्डको पालना गरि गर्न पाइने छ।  

स्थानीय प्रशासनले बार तोकेर सबै प्रकारका पसल खोल्न दिने निर्णय समेत गरेको पराजुलीले बताए । आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन गर्न पाइनेछ। त्यस्तै, अटोमोबाइल र त्यसका पार्ट पूर्जा पाइने पसल पनि खुल्नेछन्।

सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न पाइने छ। यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खोल्न पाइने छ।  

बारका आधारमा खोलिने पसलहरु बिहान ११ देखि ४ बजेसम्म खोल्न पाइनेछ भने खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछन्।

उपत्यका प्रशासनले कोभिड–१९ भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो।

प्रकाशित: ६ असार २०७८ १२:४२ आइतबार

उपत्यकामा थप १ हप्ता निषेधाज्ञा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू बारअनुसार पसल खोल्न पाइने